Thursday, December 22, 2016

मुस्ताङमा पाँच पकेट संख्या


केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ ७ पौष

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठी बिहिवार जिविस सभाहल जोमसोममा सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आनुनिकिकरण परियोजनाको बारेमा जानकारी गराउँनको लागि जिल्ला कृषि विकास कार्यालय मुस्ताङले गोष्ठीको अयोजना गरेको हो ।
    स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार भएको कृषि विकास रणनीति कार्यान्वयनको सहयोगी परियोजना प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोच रहेको छ ।
    समग्र कृषि मुल्य श्रृङखलाका अवयवहरुको एकीकृत संयोजन र परिचालन मार्फत खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरण उन्मुख दिगो आर्थिक अवसरहरु सृजना गरि राष्ट्रको समग्र विकासमा टेवा पु¥याउने परियोजनाको लक्ष्य रहेको बताईएको छ ।
    २०७३ श्रावण देखि २०८२ असार सम्मको अवधि भएको परियोजनाको परियोजना अवधिभरको कुल अनुमानित लागत १ खर्ब ३० अर्ब ७४ करोड २० लाख रुपैयाँ रहेको र आ.व. २०७३÷७४ को बिनियोजित बजेट ५ अर्ब ७८ करोड ६२ लाख ७५ हजार रुपैयाँ रहेको वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले जानकारी दिईन् ।
    परियोजनालाई पकेट, ब्लक, जोन र सुपर जोनको रुपमा अगाडी बढाइनेछ । जस अन्तर्गत १० हेक्टरको पकेटहरु, १०० हेक्टरको ब्लकहरु, ५०० हेक्टरको जोनहरु र १००० हेक्टरको सुपरजोनहरु रहने बरालले बताईन् । यसरी पकेट, ब्लक, जोनको क्षेत्र तोकिदाँ मुस्ताङमा एकै गाउँमा जग्गा उपलब्ध नहुने भएकाले जग्गाको समस्या हुने देखिएको छ । हिमाली जिल्लामा परियोजनाको कार्यविधि अनुसार काम गर्न समस्या हुने भएकाले कार्यविधि संशोधन गर्न स्थानियले माग गरेका छन् ।    
    आ.व. २०७३÷७४ मा मुस्ताङमा स्याउ, आलु लगायत गरी ५ पकेट संख्याको रुपमा परियोजना संचालन हुने र यस आ.व.मा मुस्ताङको लागि १ करोड ५० लाख बजेट रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
    अभिमुखिकरण गोष्ठीमा बोल्दै प्रमुख जिल्ला अधिकारी भिमराज पोखरेलले राष्ट्रलाई कृषिमा आत्मनिर्भर बनाउँदै रोजगारीका अवसरहरु सृजना गराउने यस परियोजनाको फाईदा लिन सबैलाई आग्रह गरे । त्यस्तै निमित्त स्थानिय विकास अधिकारी गोविन्द सिग्देलले परियोजनाले कृषि क्षेत्रको विकास र विस्तार गरी आय, क्षमता र निर्यात वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसमा सबै लाग्नुपर्ने बताए ।
    निमित्त स्थानिय विकास अधिकारी सिग्देलको अध्यक्षतमा भएको कार्यक्रमको संचालन जिल्ला कृषि विकास कार्यालयका शिवपुजन गुप्ताले गरेका थिए । कार्यक्रमको सहजीकरण वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले गरेकी थिईन् ।                               

No comments:

Post a Comment