Friday, December 30, 2016

मुस्ताङमा ऐतिहासिक ल्हफेव पर्व शुरु

केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ १५ पौष

मुस्ताङ जिल्लाको दक्षिणी भेग थाकखोला (थाक सात सय) अर्थात थकाली जनजातिको पुख्र्याैली भूमि कोवाङमा आदिवासी जनजाति थकालीको महान साँस्कृतिक धार्मिक ल्ह्फेव पर्व शुक्रवार देखि शुरु भएको छ । १२ वर्षे ल्ह्फेव तिब्बतियन ज्योतिषी शास्त्र अनुसार बाह्र जीवजन्तुको नामबाट गणनामा पर्ने बाँदर वर्ग (प्रल्हो) को तिथिमितिमा संचालन हुने पर्व हो ।
 थकालीको विशेषत ऐतिहासिक, धार्मिक, साँस्कृतिक र सामाजिक महत्व बोकेको १२ वर्षे ल्ह्फेव पर्वमा सम्पूर्ण थकालीहरु सहभागि भएर हर्षाेउल्लासका साथ देवी देवताको पुजा आरधना गरी आशिषको वरदान माग्दै मनाउने ल्ह्फेव पर्व मुल आयोजक समितिका अध्यक्ष इन्द्रबहादुर तुलाचनले बताए ।
पर्वमा विशेष गरी थकाली जातिका चार पुर्खाहरु गौचन, तुलाचन, शेरचन र भट्टचनका चारजना पाँडेहरुद्धारा ल्ह् लाङ्वा न्हुर्वु, ल्ह् क्हाङलासिंकी कर्पाे, ल्ह् छ्युरिन ग्याल्मो र ल्ह् ह्यावा¥हाङ्ज्युङ् देवताको पुजा आरधना र आदिम चार पुर्खाको पौराणिक यात्रागाथा ‘¥हव’ वाचन गर्ने प्रचलन रहेको छ ।
ल्हफेवको शाब्दिक अर्थ देवता निकाल्ने हुन्छ । पर्वमा थकाली जातिले मन्दिरमा राखेका देवता प्रत्येक १२ वर्षमा निकालेर पुजा गर्ने गर्दछन् । १२ वर्षे ल्हफेव कुम्भमेलामा रातो, हरियो, सेतो र कालो गरी चार रङका देवताहरु निकालिने सो रङले क्रमशः गौचन, तुलाचन, शेरचन र भट्टचन थरका थकालीहरुलाई जनाउँदछ ।
परापूर्व कालमा पश्चिम जुम्लाको सिंजापति हिमालयन क्षेत्र दैविय पुण्य भूमिमा विशाल कल्प वृक्ष चन्दन रुखको चार हाँगाहरुबाट रातो, हरियो, सेतो र कालो चराको रुपमा उत्पति देव–देवीको रुपमा रुपान्तरित भएको भन्ने देवताको वर्णन गाथा ¥हवमा उल्लेख भएको पाइन्छ ।
यो पर्व १७ औँ शताब्दी देखि भव्य रुपमा १२ वर्षे ल्हफेव पर्व मनाउन शुरु गरिएतापनि कुन शताब्दी देखि ल्ह्फेव संचालन भएको हो, कसैलाई पनि थाहा हुन नसकेको ल्हफेव जानकारहरु बताउँछन् । 
ल्ह्फेव पर्व मनाउनको लागि देश विदेशमा छरिएर रहेका थकाली जनजातिहरु थकालीको उद्गम भूमि मानिने कोवाङमा जम्मा हुने क्रम जारी रहेको छ । वर्षाै वर्ष देखि अलग अलग रहेका आफन्त इष्टमित्रहरु भेटघाट हुने भएकाले यस पर्वलाई आपसी सद्भाव भाईचारा साटासाट गर्ने पर्वको रुपमा पनि लिने गरिन्छ । ल्ह्फेव १२ वर्षे कुम्भमेला माघ ३ गते सम्म संचालन हुनेछ ।
ल्ह्फेव पर्व २०७३ को समुदघाटन गर्दै प्रमुख अतिथि माननीय वाणीज्य मन्त्री रोमी गौचन थकालीले पौराणिक ऐतिहासिक संस्कृतिको संरक्षण संबद्र्धन गर्नुपर्ने भन्दै थकाली जातिको विशिष्ट पहिचान र मौलिक कलासँस्कृतिलाई सदैव जोगाई राख्नु सम्पूर्ण थकाली समुदायको कर्तव्य भएको बताए ।
कार्यक्रममा थकाली सेवा समितिका केन्द्रिय अध्यक्ष कृष्णकुमारी शेरचन, ल्ह्फेव पर्व मूल आयोजक समितिका अध्यक्ष इन्द्रबहादुर तुलाचन, पूर्व सहायक मन्त्री नरबहादुर हिराचन, थाक पाँच गाउँ उद्धार समितिका अध्यक्ष आस बहादुर थकाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि गौचनद्धारा थकाली अनुसन्धान केन्द्रद्धारा प्रकाशित ‘थासाङ’, पूर्ण प्रसाद तुलाचन द्धारा लिखित ‘चार इष्ट देवी देवताको गाथा तथा मेरो संकल्प’, हरिध्वज तुलाचन द्धारा लिखित ‘ल्हफेव देवता उदय’ नामक पुस्तक, गायिका बिमला तुलाचनको गिति संग्रह ‘मुस्ताङ’ को विमोचन र भट्टचन थरको समाजघरको उद्घाटन गरिएको थियो । त्यस्तै कार्यक्रममा ल्ह्फेव पर्व संचालनार्थ आर्थिक सहयोग पु¥याउने सहयोगदातालाई सम्मान गरिएको थियो । 
उद्घाटन कार्यक्रम ल्हफेव पर्व मुल आयोजक समितिका अध्यक्ष एवं मिर मुखिया इन्द्र बहादुर तुलाचनको अध्यक्षता, थकाली सेवा समितिका केन्द्रिय अध्यक्ष कृष्णकुमारी शेरचनको स्वागत र थकाली सेवा समितिका केन्द्रिय महासचिव नरेश कुमार तुलाचनको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमका केही झलकहरु









No comments:

Post a Comment