Wednesday, December 14, 2016

जोमसोम–पोखरा जीप सरर

केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ २९ मंसिर

जोमसोम–पोखरा जीप सेवा बुधवार देखि शुरु भएको छ । श्री मुक्तिनाथ दर्शन प्रालिले बुधवार पुथाङ एयरपोर्टमा एक समारोहका बिच औपचारीक उदघाटन गरी जोमसोम–पोखरा जीप सेवा शुरु गरेको हो ।

    समयको माग संगै यात्रुको आवश्यकतालाई मध्यनजर गर्दै उचित व्यवस्थापनका साथ यातयात सेवा शुरु गरिएको मुक्तिनाथ दर्शन यातयात प्रालिका अध्यक्ष महेन्द्र थकालीले बताए । मुस्ताङमा यात्रुहरुको चाप बढ्ने समयमा यहाँ संचालित यातायातले माग अनुसारको सेवा उपलब्ध गराउन नसकेको गुनासो बढिरहेकाले सुरक्षित भरपर्दाे सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ यातायात कम्पनी दर्ता गरी सेवा शुरु गरेका हौँ । जुनसुकै समय र स्थानमा यातायात सुविधा उपलब्ध गराउन हामी प्रतिबद्ध छौँ । थकालीले भने । 
    हाल २७ वटा टाटा सुमो गोल्ड जीपबाट सेवा शुरु गरेको र यसको संख्या ४० पु¥याउने बताइएको छ । हाललाई जोमसोम देखि पोखराको लागि यातायात सेवा शुरु गरिएको र निकट भविष्यमा देशका विभिन्न स्थानमा आफ्नो सेवा विस्तार गर्ने प्रालिले जनाएको छ ।
   जोमसोम देखि पोखराको लागि प्रतिव्यक्ति १६ सय ९० रुपैयाँ भाडादर निर्धारण गरिएको छ । रिजर्वमा जाने यात्रुले १५ हजार २ सय १० रुपैयाँ तिर्नुपर्ने छ । मुस्ताङमा संचालित यातायात कम्पनीहरुले नेपाली र विदेशी पर्यटकका लागि दुई थरी भाडादर कायम गरिरहेको अवस्थामा मुक्तिनाथ दर्शन प्रालिले भने सबैका लागि एउटै भाडा निर्धारण गरेको छ ।
    छिटो छरितो सर्वसुलभ यातायात सेवा शुरु भएपछि यात्रुहरु पनि हर्षित भएका छन् । भने समितिले निर्धारण गरेको भाडा केही महंगो भएको एक यात्रु रामचन्द्र अधिकारीले गुनासो गरे । भाडादर एकहजार देखि पन्ध्रसय सम्म कायम गरिए उपयुक्त हुने उनको सुझाव छ ।
    मुस्ताङको यातायातमा भएको सिण्डिकेट अन्त्यसंगै जनतालाई सस्तो सुलभ सेवा उपलब्ध गराउनको लागि कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाण्डौमा कम्पनी दर्ता गरी सेवा शुरु गरिएको र भाडाको विषयमा केही समायोजन गर्न सकिने थकालीले बताए । जोमसोमको पुथाङ एयरपोर्टमा र पोखराका लागि पस्र्याङ (फिर्के पुल)मा जीपको काउण्टर स्थापना गरिएको छ ।

    जीपसेवाको उद्घाटन गर्दै पूर्व सभासद चन्द्रबहादुर गुरुङले यातायात सुविधा सुरक्षित, सर्वसुलभ, छिटो, छरितो र भरपर्दाे हुनुपर्नेमा जोड दिए ।
    टाटा सुमो गोल्ड जीपमा तीन हजार सिसिको पावर इन्जिन भएकाले बाह्रै महिना यसले सेवा दिन सक्ने सिप्रदी ट्रेडिङका महाप्रबन्धक प्रविण खतिवडाले बताए । उनले भने, हाल नेपालमा पाँचहजार भन्दा बढि टाटा सुमो गोल्ड जीप गुडिरहेको छन् । यसले दिने सेवा स्तरीय छ ।
    उद्घाटन कार्यक्रम मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष महेन्द्र थकालीको अध्यक्षता यातायात व्यवसायी बुद्धिसिंह नेपालीको स्वागत र सचिव सोजन हिराचनको संचालनमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment