Tuesday, December 6, 2016

दोस्रो चरणको हिमाली आयोजना ल्याउन माग

केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ २१ मंसिर

मुस्ताङका स्थानियले हिमाली आयोजनाको फेजआउट हुन केही महिना बाँकी रहेका बेला दास्रो चरणको हिमाली आयोजना ल्याउन सम्बन्धीत निकायसंग माग गरेका छन् । स्थानियले मंगलवार जिविस सभाहल जोमसोममा सम्पन्न हिमाली प्रोजेक्ट मुस्ताङको आयोजनामा हिमाली उपआयोजना व्यवसायी तथा सरोकारवालाहरु संगको अन्तरक्रिया गोष्ठीमा उक्त माग गरेका हुन् ।
मुस्ताङमा हिमाली आयोजनाका ३८ वटा विभिन्न उपआयोजना स्विकृत भई १६ गाविस मध्ये १४ गाविसमा कार्यान्वयनमा रहेको जिल्ला आयोजना समन्वय कर्ता एवं वरिष्ठ पशु विकास अधिकृत सुबल शाहले जानकारी दिए ।
    आयोजनाको कुल लगानी ७ करोड ८१ लख २९ हजार १२४ मध्ये अनुदान रकम ५ करोड ९९ लाख १२ हजार १३ रुपैयाँ र व्यवसायीको लगानी १ करोड ८२ लाख १७ हजार १११ रुपैयाँ रहेको छ । त्यस्तै ५ करोड ५५ लाख १९ हजार २४८ रुपैयाँ जम्मा भुक्तानी भएको र ४३ लाख ९२ हजार ७६५ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको शाहले बताए ।
    नेपालका उच्च पहाडी जिल्लाहरुमा कृषि, पशुपालन र जडीबुटी उत्पादनको प्रचुर सम्भावना रहेको र सो सम्भावनाको उपयोग गर्दै भौगोलिक अवस्थिति र अलग हावापानीले गर्दा हिमाली जिल्लाहरुमा हुनसक्ने विशेष उत्पादनहरुको मुल्य श्रृङखला विकास गरी स्थानिय वासिन्दाको आयवृद्धि गर्ने र जीविकोपार्जनमा दिगो सुधार ल्याउने उद्देश्यले उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजना संचालन गरिएको आयोजना निर्देशक डा. विजयकान्त झाले जानकारी दिए ।
   हिमाली आयोजना संखुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, जुम्ला र हुम्ला गरी १० जिल्लाहरुमा लागु भएको निर्देशक झाले बताए । एशियाली विकास बंैकको अनुदान सहयोगमा संचालित यो आयोजना नेपाल सरकार र उक्त बंैक विच २७ जुन २०११ मा सम्झौता भई १ अक्टोवर २०११ देखि संचालनमा आएको र आयोजना ३१ अक्टोबर २०१७ सम्म चालु रहने बताइएको छ ।
    कार्यक्रमको उद्घाटन गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी जितेन्द्र बलामीले हिमाली आयोजनाले व्यवसायीलाई व्यवसाय प्रति उत्प्रेरणा दिँदै कृषि तथा पशुपालनका क्षेत्रमा प्रविधि भित्राउन सफल भएको भन्दै जलवायु परिवर्तन अनुकुलको कृषि पशुपालन प्रणालीको विकास गर्नुपर्ने बताए । त्यसैगरी स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाले आयोजनाले मुस्ताङको कृषि पशुपालन क्षेत्रमा राम्रो सुधार ल्याएको भन्दै दोस्रो पटक आयोजनालाई मुस्ताङमा ल्याउन आग्रह गरे । 
कार्यक्रममा उद्योग वाणीज्य संघ मुस्ताङका अध्यक्ष खगेन्द्र तुलाचन, नेपाली कांग्रेसका गणेश शेरचन, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चन्द्रमोहन गौचन, नेकपा माओवादी केन्द्रका विशाल विक लगायतले सल्लाह, सुझाव र जिज्ञासा राखेका थिए ।
कार्यक्रमका सहभागीले हिमाली आयोजनाबाट आयस्रोत राम्रो भएकाले लाभ लिएको र गरिब निमुखाले उपआयोजना स्विकृत गर्न नसकेको भन्दै गरिबका लागि लक्षित गर्दै हिमाली आयोजना दुई ल्याउनुपर्नेमा जोड दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासाको आयोजना निर्देशक डा. विजयकान्त झा, एशियाली विकास बंैकका वरिष्ठ कार्यक्रम अधिकृत अरुण राणा, एसीआइ हिमाली राष्ट्रिय टोली प्रमुख दलराम प्रधान र कृषि उद्यम केन्द्र हिमाली आयोजनाका राष्ट्रिय टोली प्रमुख राममणी पौडेलले जवाफ दिएका थिए ।
स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाको अध्यक्षतमा भएको कार्यक्रमको संचालन हिमाली आयोजना जिल्ला कृषि व्यवसाय विज्ञ तीर्थराज ढकालले गरेका थिए । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख शिव पुजन गुप्ताले धन्यवाद ज्ञापन गरेका थिए । 

No comments:

Post a Comment