Tuesday, December 13, 2016

मुस्ताङमा पौष १६ देखि ल्हफेव पर्व शुरु हुँदै


केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ २८ मंसिर

परापूर्व कालदेखि समाजले प्राप्त गरेको ऐतिहासिक, साँस्कृतिक, धार्मिक सम्पदाको रुपमा स्थापित ल्हफेव पर्व मुस्ताङको कोवाङमा आगामी पौष १६ गते देखि शुरु हुँदैछ । थकाली जनजातिको विशिष्ट मौलिक पहिचान र अस्तित्वकै परिचयकको रुपमा लिईने ल्हफेव वर्ष हरेक बाह्र वर्षमा मनाउने गरिन्छ । प्रत्येक बाह्र वर्षमा मनाइने भएकाले यसलाई १२ वर्षे कुम्भमेला पनि भन्ने गरिन्छ ।
   ल्हफेवको शाब्दिक अर्थ देवता निकाल्ने हुन्छ । ल्हफेव पर्वमा गौचन, तुलाचन, शेरचन र भट्टचन गरी चारचन थरका थकाली जनजातिले मन्दिरमा राखेका देवता प्रत्येक १२ वर्षमा निकालेर पुजा गर्ने गर्दछन् । चारचनका चार देवताले समाजको रक्षा तथा आफ्नो कल्याण गर्ने जनविश्वास रहि आएको स्थानिय आनन्द शेरचनले बताए ।
ल्हफेव कुम्भमेलामा रातो, हरियो, सेतो र कालो गरी चार रङका देवताहरु निकालिने सो रङले क्रमशः गौचन, तुलाचन, शेरचन र भट्टचन थरका थकालीलीलाई जनाउँदछ ।
    मुस्ताङ जिल्लाको  दक्षिणी भागमा अवस्थित थाक सातसय थासाङ थकाली जनजातिको मूल पितृथलो मात्र नभई संस्कृति सभ्यताको पनि उद्गम केन्द्र भएको र परापूर्व कालदेखि निरन्तरता दिँदै आएको १२ वर्षे ल्हफेव कुम्भमेलाले थकाली जनजातिको बहुपक्षिय सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई जिवन्त रुपमा प्रतिविम्वित गर्दै आएको शेरचनको भनाई छ ।
हाल मनाउन तयारी गरिएको ल्हफेव कुम्भमेला थकाली इतिहासको निरन्तरता र एउटा महत्वपूर्ण महान पर्व मात्र नभई विशिष्ट मौलिक पहिचान पनि हो । शेरचनले भने ।
संस्कार र संस्कृति विनाको जातियता, राष्ट्रियता अपांग हुन्छ भन्ने मान्यताका साथ ओझेलमा परेका पौराणिक ऐतिहासिक सांस्कृतिक सम्पदाहरुको विशेष संरक्षण संबद्र्धन, जीवन्तता र उत्थानका लागि समाज र राष्ट्र एकताबद्ध र कटिबद्ध भएमात्र यसले पूर्णता पाउनुका साथै सु–संस्कृत समाजको सृजना हुने भएकाले प्रत्येक बाह्र वर्षमा ल्हफेव पर्व मनाउने गरिएको ल्हफेव मूल आयोजक समितिका अध्यक्ष एवं मिर मुखिया इन्द्रबहादुर तुलाचनले बताए ।
१२ वर्षे (प्रल्होवर्ग) ल्हफेव पर्वमा कृपालु च्योकी ल्ह् लाङवा न्हुर्वु, साल्की ल्ह् छ्युरिन ग्याल्मो, ट्हिमचन ल्ह् क्हाङ्लासिंकि कर्पाे र प्हुर्की ल्ह् ह्र्यावा ¥हाङज्युङ् ल्हत्हिमबाट बाहिर निस्किई हजारौँ शक्ति, दर्शन, आशिर्वाद दिनुहुने व्यापक कार्यक्रमहरु हुने गर्दछ । लेतेका गाउँ मुखिया रविन्द्र तुलालने भने ।
    तुलाचनका अनुसार मेलालाई चारै प्ह्याका पाँडेद्धारा वाचित चार देव र चार आदिपुर्खाको अत्यन्तै मर्मस्पर्शी पौराणिक यात्रागाथा “¥हव” श्रवण गर्न पाउनु अर्काे सुअवसरको रुपमा लिने गरिन्छ । 
    चारचन थकालीको ऐतिहासिक तथा धार्मिक महान पर्व (ल्हफेव) आगामी पौष १६ गते देखि माघ ३ गते सम्म विविध धार्मिक तथा साँस्कृतिक कार्यक्रम सहित मनाइने आयोजकले बताएको छ । सो पर्वमा देश तथा विदेशमा छरिएर रहेका थकालीहरु थकाली जातिको उद्गम स्थल कोवाङमा भेला हुने गर्दछन् ।
    थकाली जातिको धार्मिक महान पर्व ल्हफेव अर्थात १२ वर्षे कुम्भमेलाको थकाली समुदाय र अन्य समुदाय गरी ५० हजारले अवलोकन गर्ने बताइएको छ । विगत १२ वर्ष अगाडी ल्हफेव पर्व २०६१ पौष २८ देखि माघ १६ गतेसम्म मनाईएको थियो ।     

No comments:

Post a Comment