Monday, August 15, 2016

परम्परागत यार्तुङ मेला सुरु !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ ३१ श्रावण
हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथमा परम्परागत रुपमा संचालन हुँदै आएको ऐतिहासिक यार्तुङ मेला यस वर्ष पनि सोमवार देखि सुरु भएको छ ।
स्थानीय कला संस्कृतीको संरक्षण र पर्यटन प्रर्वधनमा टेवा पु¥याउने उद्देश्यले जनप्रिय युवा क्लव पुराङको आयोजनामा ऐतिहासिक यार्तुङ महोत्सव संचालन गरिएको क्लवका अध्यक्ष सुरज गुरुङले जानकारी दिए ।
हिन्दु र बौद्ध धर्मालम्वीहरुको महत्वपूर्ण धार्मिक तथा पर्यटकिय गन्तव्य मुक्तिनाथ मन्दिर क्षेत्रको रानीपौवामा परम्परागत महोत्सव संचालन गरिएको छ । महोत्सव श्रावण ३१ गते देखि भाद्र २ गते सम्म संचालन हुनेछ ।
यार्तुङ हिमालपारीको जिल्ला मुस्ताङका बाह्र गाउँले जातीको महत्वपूर्ण पर्व हो । परापूर्व कालदेखि संचालन हुँदै आएको यस पर्वमा मानिसहरु आफ्नो परम्परागत भेषभूषाको पहिरन गरी मुक्तिनाथ मन्दिर परिक्रमा गर्दै पुराङ रानीपौवा बजारमा पुगेर घोडा दौड र विभिन्न झाँकी संगसंगै नाचगान गरी यो पर्व मनाउँछन् ।
मेलामा घोडा दौड, तारा खेल प्रतियोगिता, फुटबल प्रतियोगिता, नृत्यका साथै ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु द्धारा हास्यव्यंग्य तथा विशेष सांगितिक कार्यक्रम संचालन गरिने अध्यक्ष गुरुङले बताए ।
जनैपुर्णिमाको अवसरमा संचालन गरिने यार्तुङ मेलाको स्वदेशी तथा विदेशी पर्यटकहरुले अवलोकन गर्दै आईरहेका छन् । चार दिन सम्म संचालन गरिने उक्त मेलामा धेरै भन्दा धेरै पर्यटकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
मेला हेर्नका लागि मुस्ताङका विभिन्न गाविस लगायत मनाङ, म्याग्दी, पर्वत, बागलुङ, कास्की संगै देशका विभिन्न जिल्लाहरुबाट मानिसहरु आउने गरेका छन् ।

No comments:

Post a Comment