Thursday, August 11, 2016

धौलागिरी बोर्डिङ द्धारा प्रशासन विरुद्ध अदालतमा रिट दर्ता !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, २७ श्रावण
धौलागिरी आवासिय माध्यामिक विद्यालय जोमसोमले जिल्ला प्रशासन कार्यालय मुस्ताङ विरुद्ध जिल्ला अदालत मुस्ताङमा रिट दर्ता गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले धौलागिरी आवासिय माविले प्रयोग गर्दै आएको सार्वजनिक जग्गालाई खाली गर्नको लागि बारम्बार ताकेता गरे पछि विद्यालय संचालन गरेको भवन खाली गर्दा विद्यार्थीको भविष्य अन्योलमा पर्ने भन्दै जिल्ला अदालत जोमसोममा रिट दर्ता गरेको विद्यालय श्रोतले जनाएको छ ।
नेपालको प्रचलित कानून विपरित सार्वजनिक जग्गामा विद्यालय बनाई व्यक्तिगत लाभ लिएको भन्दै विगत केही समय अगाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी परेकाले अख्तियारले उक्त उजुरी उपर छानविन गरि विद्यालय भएको जग्गा खाली गर्न निर्दशन दिएको थियो ।
करिब ६ रोपनी क्षेत्रफलमा फैलिएको सो विद्यालय रहेको जग्गा खाली गर्न अख्तियारले जिल्ला प्रशासन मार्फत दिएको ३ महिने अल्टिमेटमको म्याद आज सकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विद्यालय खाली गर्न दिएको ३ महिने अल्टिमेटमको म्याद सकिनै लाग्दा विद्यालयले प्रशासन विरुद्ध रिट दायर गरेको हो ।
प्रशानसन विरुद्ध जिल्ला अदातलमा विद्यालयको जग्गाको विषयमा रिट परेपछि अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सोही अनुरुप आज प्रशासनले जिल्ला अदालतमा बयान दिने बताईएको छ ।
अख्तियारले विद्यालय रहेको सार्वजनिक जग्गा ३ महिना भित्र खाली गराई सोको जानकारी आयोगमा पठाउन निर्देशन दिएकाले हामीले सो जग्गा खाली गराउन विद्यालयलाई परिपत्र गरेका हौँ । तर विद्यालयले जग्गाको विषयमा प्रशासन विरुद्ध रिट दायर गरेपछि यो मुद्धा अदालतमा विचाराधीन छ र अदालतको फैसला अनुसार प्रक्रिया अगाडी बढ्ने प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले जानकारी दिए ।
अख्तियारको निर्णय कार्यान्वयन संगसंगै विद्यार्थीको पढन पाउने अधिकार प्रति प्रशासन संवेदनशील रहेको प्रजिअ अधिकारीले भनाई छ ।
विद्यालय खाली गराउन अख्तियारले निर्देशन दिए पछि ३८५ जना विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै अभिभावकले चिन्ता व्यक्त गरेका छन् । विद्यालय खाली गराउनु हुँदैन विद्यार्थीले पढन पाउने अधिकारको हनन गर्न नहुने अभिभावकहरुको भनाई छ ।
शैक्षिक सत्रको महत्वपूर्ण क्षणमा विद्यालय खाली गराउँने अख्तियारको निर्णयले विद्यार्थीको भविष्य प्रति पश्न चिन्ह खडा भएको भन्दै शिक्षक अभिभावक संघका अध्यक्ष भिसन थकालीले विद्यालय खाली गराउने निर्णय आफुहरुलाई मान्य नभएको बताए । कम्तिमा पनि यस शैक्षिक सत्रको अन्त्यसम्म अर्थात मंसिर सम्म विद्यालय निर्वाध रुपमा संचालन गर्न पाउनु पर्ने विद्यालयको माग छ ।
यस शैक्षिक सत्रको अन्त्य सम्म विद्यालय निरन्तर संचालन गर्नको लागि वातावरण मिलाउन जिल्ला शिक्षा कार्यालय जोमसोम हुँदै शिक्षा मन्त्रालय मार्फत अख्तियारलाई अनुरोध गर्ने विद्यालयले जनाएको छ ।
वि.सं. २०५९ साल चैत्र २९ गते तत्कालिन जोमसोम गाविस अध्यक्ष स्व.लक्ष्मी प्रसाद थकालीको अध्यक्षतामा जोमसोम गाविसमा बसेको बैठक तथा गाउँ परिषदको निर्णयले हाल शसस्त्र प्रहरीको ब्यारेक रहेको स्थानमा जग्गा उपलब्ध गराएको र सो स्थानमा नेपाली सेनाले आफ्नो फाईरिङ स्थल भएको भन्दै रोके पछि २०६१ बैशाख ४ गते पुनः जग्गा उपलब्ध गराई पाउँ भनि गाविसलाई निवेदन गरेपछि तत्कालिन गाविस सचिव भंmकनाथ पौडेलको नेतृत्वमा बसेको गाउँ परिषदले सो स्थानमा विद्यालय बनाउन स्विकृती दिएपछि उक्त स्थानमा विद्यालय बनाएका हौँ हामीलाई कुनै कुरा राख्ने मौका नै नदिई विद्यालय खाली गर्न निर्देशन दिईयो यस प्रति हाम्रो गम्भिर आपत्ति छ । विद्यालयका प्रिन्सिपल चन्द्र बहादुर गुरुङले भने ।
विद्यालय संचालनको लागि प्रति व्यक्ति ९ लाखका दरले २० जना र जोमसोम गाविसको नाममा ४ सेयर अर्थात ३६ लाख सेयर कायम रहेको विद्यालय संचालक समितिका अध्यक्ष चन्द्र बहादुर थकालीले बताए ।  
 अख्तियारले कुनै जानकारी नै नगराई एक्कासी विद्यालय खाली गर्न निर्देशन दिएपछि समस्या जटिल बनेको प्रिन्सिपल गुरुङले बताए । विद्यालय खाली गराउने अख्तियारको निर्देशन पश्चात विद्यार्थीमा मनोवैज्ञानिक असर परेकाले विद्यार्थीको पढन पाउने अधिकार सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नु पर्ने गुरुङको भनाई छ ।
विद्यार्थीको पढन पाउने अधिकार प्रति संवेदनशील बन्नुपर्ने भन्दै विद्यालय संचालन समितिका अध्यक्ष चन्द्र बहादुर थकालीले हामीले नाफा कमाउने मनसायले नभई पवित्र मनले जिल्लाको शैक्षिक विकासका लागि काम गरेका हौँ । कानुनी लडाई लड्ने तर भर्खरै विद्यालयको जग्गा खाली गर्न नसकिने थकालीले बताए ।
हाल विद्यालयमा २१ जना शिक्षक शिक्षिकाले अध्यापन र ३८५ जना विद्यार्थी अध्ययनरत छन् । हालसम्म २०६ जना विद्यार्थीलाई प्रवेशिका प्ररिक्षा उतीर्ण गराई सकेको सो विद्यालयमा यो वर्ष ३२ जना विद्यार्थी विद्यार्थी एसएलसि परिक्षाको तयारीमा छन् ।  

No comments:

Post a Comment