Thursday, August 11, 2016

मुस्ताङवासीलाई ३ गाउँपालिका अमान्य !

केशव विश्वकर्मा
मुस्ताङ, २७ श्रावण
मुस्ताङका स्थानियले गाउँपालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको मुस्ताङमा ३ गाउँपालिका बनाउने निर्णय आफुहरुलाई स्वीकार्य नभएको बताएका छन् ।
स्थानिय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको सचिवालय मुस्ताङले बिहिबार जिविसको सभाहल जोमसोममा आयोजना गरेको स्थानिय तह पुनर्संरचना सम्बन्धी जिल्ला स्तरीय परामर्श कार्यशाला गोष्ठीमा स्थानियले आफ्नो कलासँस्कृति टुक्रिने भन्दै आफुहरुलाई ३ गाउँपालिका मान्य नहुने बताएका हुन् ।
सारोकारवालाले मुस्ताङलाई ३ गाउँपालिकामा विभाजन गर्ने आयोगको निर्णय अव्यवहारिक र अपर्याप्त भएको भन्दै मुस्ताङमा विशिष्टता, पहिचान, कलासंस्कृति, भौगोलिक, धार्मिक, ऐतिहासिक, विविधता, सामाजिक र साँस्कृतिक हिसाबले ५ गाउँपालिका आवश्यक रहेको बताएका छन् ।
मुस्ताङका १६ गाविसका प्रतिनीधिहरुले मुस्ताङलाई ५ गाउँपालिकामा विभाजन गरेमा एउटै कलासँस्कृति रितिरिवाज भएका समुदाय एउटै गाउँपालिकामा पर्ने धारणा व्यक्त गरेका छन् ।
सरोकारवालाका अनुसार साँस्कृतिक रुपान्तरणको लागि लो–छ्योध्युन २ गाउँपालिका, बाह्रगाउँ १ गाउँपालिका, पाँचगाउँ १ गाउँपालिका र थाक सात सय १ गाउँपालिका गरी ५ गाउँपालिका हुनु पर्ने माग गरेका छन् ।
गोष्ठीका सहभागिले जिल्लाको मार्फा र जोमसोम गाविसलाई मिलाइ साँस्कृतिक नगरपालिका बनाउन सकिने प्रस्ताव गरेका थिए ।
मुस्ताङको पुनर्संरचनाको विषयमा बोल्दै सभासद रोमी गौचन थकालीले हतार नगरि स्थानिय तहको राम्रोसँग अध्ययन र छलफल गरी गाउँलेको राय अनुसार पुनर्संरचना गर्नु पर्ने भन्दै स्थानिय तहको निर्णय गरेर मात्र जिल्ला तहको निर्णय गर्नु पर्ने बताए ।
मुस्ताङ विभिन्न तवरले एक विशेष जिल्ला हो । स्थानिय तहमा जनतालाई पुनर्संरचनाको विषयमा राम्रो सँग जानकारी गराई जनताको कुरा सुनेर मात्र पुनर्संरचना गर्नुपर्छ दुई चार जनासँग गरेको निर्णय बदर हुन सक्छ । गौचनले भने ।
सभासद गौचनले आयोगमा समय थप गर्न अनुरोध गरी जिल्लाको विस्तृत रुपमा अध्ययन गरी पुनर्संरचना गर्न आग्रह गरे ।
स्थानिय तह पुनर्संरचना प्राविधिक सहयोग समिति मुस्ताङका संयोजक एवं स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाले विस्तृत छलफल गरी जिल्ला स्तरीय कार्यशाला गोष्ठीबाट आएका सल्लाह सुझाव अनुरुप अर्काे गोष्ठीमा पुनर्संरचनाको खाका तयार गर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका कार्यवाहक सभापति नुर्वु गुरुङ, नेकपा एमालेका सचिव देव बहादुर गुरुङ, माओवादी केन्द्रका संयोजक सत्यनारायण शेरचन, राप्रपा नेपाल अध्यक्ष प्रविण शेरचन, राप्रपाका नरबहादुर हिराचन, नयाँ शक्ति नेपालका संयोजक धिरेन्द्र विक, पूर्व सभासद चन्द्र बहादुर गुरुङ, पूर्व जिविस सभापति भक्ति हिराचन, नेपाली काँग्रेसका पूर्व सभापति सुवर्ण कुमार विष्ट, थाक खेलकुद तथा साँस्कृतिक विकास संघका अध्यक्ष प्रेम प्रसाद तुलाचन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानिय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका सदस्य सचिव एवं योजना तथा प्रशासकीय अधिकृत जीवन ज्ञवालीले स्थानिय तह पुनर्संरचनाको विषयमा सहजीकरण गरेका थिए ।
स्थानिय तह पुनर्संरचना प्राविधिक सहयोग समिति मुस्ताङका संयोजक एवं स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाको अध्यक्षता, समितिका सदस्य एवं जिल्ला भूसंरक्षण अधिकृत माधव बरालको स्वागत तथा समितिकी सदस्य एवं जिल्ला मालपोत अधिकृत दुर्गादेवि देवकोटाको संचालनमा सम्पन्न भएको कार्यक्रममा राजनीतिक दल, पूर्व जनप्रतिनीधि, जिल्लाका १६ वटै गाविसका गाविस सचिव, नागरिक समाज, लगायत सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

No comments:

Post a Comment