Friday, August 26, 2016

रोमी गौचनलाई बााणिज्य मन्त्रालयको जिम्मेवारी !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ १० भाद्र
मुस्ताङका सभासद रोमी गौचन थकाली नेपाल सरकारको मन्त्री परिषदमा चयन भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच मन्त्रालय भागबन्डामा सहमति जुटेपछि रोमीलाई मन्त्रीमा सिफारिस गरिएको हो ।
पाँच मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको नेता पौडेल पक्षबाट गौचन मन्त्रीमा सिफारिस भएका हुन् । उनले बाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै पार्टी कोषाध्यक्ष सीतादेवी यादवका साथै दिपक गिरी, नवीन्द्रराज जोशी र हृदयराम थानी सहभागी हुँदै छन्। पौडेल पक्षबाट सरकारमा सहभागी हुने नयाँ अनुहार छन्।
गौचन बाणिज्य, यादव शान्ति, गिरी सिँचाइ, जोशी उद्योग र थानीले सहकारीको जिम्मेवारी पाएका छन्। पौडेल पक्षबाट बलबहादुर केसी, आनन्दप्रसाद ढुंगानासहितका नेता पनि मन्त्रीका आकांक्षी थिए। तर, पौडेल पक्षभित्रको पनि उपगुट मिलाउँदा उनीहरू सूचीमा अटेनन्।
त्यसैगरी सभापति निकट नेताहरू प्रकाशशरण महत, बालकृष्ण खाँण, अर्जुननरसिंह केसी, जीवनबहादुर शाही, केशवकुमार बुढाथोकी, सूर्यमान गुरुङ र शंकर भण्डारी मन्त्री छानिएका छन्। महत परराष्ट्र, खाँण रक्षा, केसी सहरी विकास, शाही पर्यटन, गुरुङ श्रम र भण्डारीले वन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।
भण्डारी र गुरुङको नाम अन्तिम समयमा मात्र मन्त्रीको सूचीमा परेको हो। नेता खुमबहादुर खड्काले भण्डारीलाई सरकारमा सहभागी गराउन दबाब दिएपछि मोहनबहादुर बस्नेतको नाम काटिएको स्रोतको दाबी छ।
त्यस्तै, सिटौला पक्षबाट गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्। सभापति देउवाले थापालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी गरे पनि केसी र उनले मन्त्रालय साटफेर गरेको निकट स्रोतको दाबी छ।
यसअघि गृह मन्त्रालय नपाएको भन्दै मन्त्रीको शपथ नलिएका केसीलाई स्वास्थ्यको जिम्मेवारी मिलेको थियो। यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेको जनाउँदै केसीले पार्टी केन्द्रीय सदस्यसमेत रहेका नाताले ज्वाइँ थापालाई स्वास्थ्यमा पठाएर सहरी विकास लिएको निकट स्रोतको दाबी छ। थापा पहिलोपटक मन्त्री बन्न लागेका हुन् भने केसीले यसअघि पटक–पटक मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
सरकारमा सहभागी हुने १३ कांग्रेस नेताले शुक्रबार बिहान ९ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने छन्। सभापति देउवाका सात, नेता पौडेलका पाँच र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट एक नेताले शुक्रबार शपथ लिन लागेका हुन्।
परराष्ट्र मन्त्रालयको जिम्मेवारी नपाएपछि नेता शेखर कोइराला मन्त्रिपरिषदमा अटाएनन्। सभापति देउवाले आफ्ना विश्वासपात्र महतलाई परराष्ट्रको जिम्मेवारी दिएपछि कोइराला बाहिर परेका हुन्। गृह र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीसहित कांग्रेसबाट निधि र लेखक सरकारमा सहभागी भइसकेका छन्।
कांग्रेसले सभापति देउवा स्वास्थ्य उपचारबाट फर्केलगत्तै पार्टीका थप केही नेतालाई राज्यमन्त्रीको जिम्मेवारी दिने आन्तरिक तयारी छ। उपचारका लागि देउवा शुक्रबार नै विदेश जाँदैछन्। देउवा स्वदेश फर्केपछि दीर्घराज भाट, सुरेन्द्र आचार्य, सरिता प्रसाईं, जीवनबहादुर परियार सहितका नेताले राज्यमन्त्रीको जिम्मेवारी पाउनसक्ने निकट स्रोतको दाबी छ।
सभापति देउवा र नेता पौडेल पक्षबीच मन्त्रालय भागबन्डामा सहमति जुटेसँगै शुक्रबार पुष्पकमल दाहाल नेतृत्वको सरकार चौथोपटक विस्तार हुने भएको छ। दाहाल प्रधानमन्त्रीमा निर्वाचत भएको तीन सातापछि सत्ता साझेदार कांग्रेसले १५ मन्त्रालयसहित नेताहरूलाई सरकारमा पठाउन लागेको हो। प्रधानमन्त्री दाहालसहित माओवादी नेताहरू कांग्रेसलाई थप दुई मन्त्रालय दिन सहमत भएसँगै कांग्रेसले पार्टीभित्रको मन्त्रालय विवाद अन्त्य गर्दै सरकारमा सहभागी नेताको नाम र जिम्मेवारीसमेत तय गरेको छ। माओवादीसँग सत्ता साझेदारी गर्दा कांग्रेसले १३ र माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक आठ मन्त्रालय लिने सहमति थियो। तर, कांग्रेसले पार्टीभित्र सन्तुलन मिलाउन कठिन भएको जनाएसँगै थप दुईसहित १५ मन्त्रालयको जिम्मेवारी पाएको हो।

No comments:

Post a Comment