Thursday, August 11, 2016

अदालतद्धारा विद्यालय संचालन गर्न आदेश जारी !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ २७ श्रावण
विद्यालयको जग्गाको विषयमा धौलागिरी बोर्डिङ स्कुलले प्रशासन विरुद्ध दायर गरेको रिट उपर जिल्ला अदालत मुस्ताङले विद्यालय संचालन गर्न आदेश जारी गरेको छ ।
अदालतले बिहिबार वादी र प्रतिवादी दुई पक्षसंग बयान लिई सकेपछि रिटको टुंगो नलाग्दा सम्म सोही स्थानमा विद्यालय संचालन गर्न आदेश जारी गरेको हो ।
नेपालको प्रचलित कानून विपरित सार्वजनिक जग्गामा विद्यालय बनाई व्यक्तिगत लाभ लिएको भन्दै विगत केही समय अगाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी परेकाले अख्तियारले उक्त उजुरी उपर छानविन गरि विद्यालय भएको जग्गा खाली गर्न निर्दशन दिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विद्यालय खाली गर्न दिएको ३ महिने अल्टिमेटमको म्याद सकिनै लाग्दा विद्यालयले प्रशासन विरुद्ध रिट दायर गरेको हो ।
करिब ६ रोपनी क्षेत्रफलमा फैलिएको सो विद्यालय रहेको जग्गा खाली गर्न अख्तियारले जिल्ला प्रशासन मार्फत दिएको ३ महिने अल्टिमेटमको म्याद आज सकिएको छ ।
रिटको टुंगो नलाग्दा सम्म निर्वाध रुपमा विद्यालय संचालन हुने भएपछि  पठनपाठनको विषयमा विद्यार्थी र अभिभावक विच छाएको अन्योल तत्कालको लागि टरेको छ ।  


No comments:

Post a Comment