Friday, August 12, 2016

समृद्ध राष्ट्र निर्माणमा युवा जागरुक हुनुपर्छः सरोकारवाला !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, २८ श्रावण
युवा शक्ति राष्ट्रको खम्बा भएकाले समृद्ध राष्ट्र निर्माणमा युवा जागरुक हुनुपर्ने एक अन्तरक्रियाका सहभागीले बताएका छन् ।
नेपाल सरकार युवा परिषद जिल्ला युवा समिति मुस्ताङले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा शुक्रवार होटल प्राइड एण्ड स्पा जोमसोममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागिले सो कुरा बताएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले सहि नीति, संरचना र रिशोर्ष अवलम्बन गर्दै समृद्ध राष्ट्र निर्माणका निम्ति युवा परिषदले ठोस कदम चाल्नुपर्नेमा जोड दिए ।
आत्मनिर्भर र राष्ट्र निर्माणका लागि प्राविधिक शिक्षा र सीपयुक्त जनशक्ति आवश्यक रहेको बताउँदै प्रजिअ अधिकारीले प्रविधिसँग अन्तर घुलित भई प्रतिष्पर्दा गरी अगाडी बढन सक्ने युवा हुनु पर्ने बताए । अधिकारीले राज्यले युवालाई स्वदेशमै परिचालन गर्न प्राविधिक शिक्षा र सहि नीति अवलम्बन गर्नुपर्ने उल्लेख गरे ।
त्यस्तै युवा परिषद मुस्ताङका अध्यक्ष सम्राट गौचनले “गरिबी निवारणमा युवाको प्रतिवद्धता उत्पादन र उपभोगमा आत्म निर्भरता” युवा परिषदको मुल उदघोष रहेको भन्दै सोही अनुरुप युवाका गतिविधिलाई अगाडी बढाउने बताए ।
हाल नेपालका करिब ६० लाख युवा विदेशमा जानु पर्ने बाध्यात्मक अवस्था रहेकाले देश विकासका लागि युवालाई प्राविधिक ज्ञानसीप प्रदान गरी स्वदेशमै परिचालन गर्न राज्यले ठोस कदम चाल्नुपर्ने युवाहरुको भनाई छ ।  
कार्यक्रममा प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगी, नेकपा एमालेका रमेश भट्टचन, माओवादी केन्द्रका संयोजक सत्यनारायण शेरचन, विशाल विक, मुस्ताङ साप्ताहिकका प्रकाशक तिलक विक, अनेरास्वयूका अध्यक्ष पेमा छेतेन विक लगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा अग्रज वुद्धिजिवि लगायत युवाहरुको विशेष उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment