Saturday, August 6, 2016

गुणस्तरमा सम्झौता गर्नु हुँदैनः प्रजिअ अधिकारी !

 मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ
विकास निर्माणका काममा गुणस्तरमा जोड दिनुपर्ने भन्दै प्रमख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताए ।
जिल्ला विकास समितिको आयोजनामा श्रावण २१ गते शुक्रवार जिविसको सभाहल जोमसोममा भएको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठीमा अधिकारीले सो कुरा बताएका हुन् ।
गोष्ठीमा बोल्दै अधिकारीले विकासका काममा जिम्मेवार पूर्वक लाग्नुपर्ने र उद्देश्य अनुरुप कृयाकलाप संचालन गर्नुपर्ने कुरामा जोड दिँदै विकासलाई जनतामुखि बनाउनु पर्ने र भए गरेका कामको अनुगमन बढाउन आग्रह गरे ।
उनले भने । काम चलाउ विकास होइन दिगो विकास तर्फ लाग्नु पर्छ र हामी संग भएका स्थानिय स्रोत साधनको पहिचान र परिचालन गर्नुपर्छ । बजेट मात्र खर्च गरेर विकास नहुने उनको तर्क थियो ।
त्यसैगरी स्थानिय विकास अधिकारी हरिप्रसाद वास्तोलाले विकास निर्माणमा भएका कमि कमजोरीलाई आगामी दिनमा सुधार गर्ने र विकासका कामको अनुगमनलाई तिव्रता दिने बताउँदै आगामी दिनमा सल्लाह सुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
राजनैतिक दलको समयको अभावका कारण बजेट बाँडफाँड ढिलो भएको र प्राविधिकहरुको कमि भएकाले तयारी पुरा हुन नसकेको वास्तोलाको भनाई छ ।
कार्यक्रममा नेकपा एमालेकी प्रतिनीधि सम्झना थकाली र माओवादी केन्द्रका प्रतिनीधि विशाल विकले मन्तव्य व्यक्त गरेका थिए ।
गोष्ठीमा जिविसको तर्फबाट योजना अधिकृत जीवन ज्ञवाली, जिल्ला शिक्षा कार्यालय बाट जिशिअ केशरीरमण न्यौपाने, आयुर्वेद कार्यालयबाट आयुर्वेद चिकित्सक डा.कमलराज अधिकारी र महिला तथा बालबालिका कार्यालयबाट सुशिला तिमिल्सिनाले वार्षिक प्रगतिको समिक्षा गरेका थिए ।
त्यस्तै खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, जिल्ला भूसंरक्षण कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला पशुसेवा कार्यालय, शितोष्ण बागबानी फर्म, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोम र लोमान्थाङ लगायत जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयले आफ्नो वार्षिक प्रगति प्रस्तुत गरेका थिए ।
कार्यक्रम मा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि, राजनैतिक दलका प्रतिनिधि, नागरिक अगुवा र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
स्थानिय विकास अधिकारी हरि प्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्य माथि प्रकाश तथा स्वागत योजना अधिकृत जीवन ज्ञवालीले गरेका थिए । कार्यक्रम जिविसका कार्यक्रम अधिकृत केदारसिंह थापाको संचालनमा सम्पन्न भएको थियो ।    

No comments:

Post a Comment