Saturday, August 20, 2016

विविध कार्यक्रम सहित ऐतिहासिक यार्तुङ मेला सम्पन्न !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ २ भाद्र
गत श्रावण ३१ गतेवाट हिन्दु र बौद्ध धर्मालम्वीहरुको पवित्र तीर्थस्थल मुक्तिनाथको रानीपौवामा संचालित बाह्र गाउँले गुरुङहरुको ऐतिहासिक यार्तुङ मेला विविध कार्यक्रम सहित भाद्र २ गते सम्पन्न भएको छ ।
स्थानीय कला संस्कृतीको संरक्षण र पर्यटन प्रर्वधनमा टेवा पु¥याउने उद्देश्यले जनप्रिय युवा क्लव पुराङको आयोजनामा ऐतिहासिक यार्तुङ मेला सम्पन्न भएको हो ।
यार्तुङ हिमालपारीको जिल्ला मुस्ताङका बाह्र गाउँले गुरुङ जातीको महत्वपूर्ण पर्व हो । परापूर्व कालदेखि संचालन हुँदै आएको यस पर्वमा मानिसहरु आफ्नो परम्परागत भेषभूषाको पहिरन गरी मुक्तिनाथ मन्दिर परिक्रमा गर्दै पुराङ रानीपौवा बजारमा पुगेर घोडा दौड र विभिन्न झाँकी संगसंगै नाचगान गरी यो पर्व मनाउने गर्छन् ।
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि स्वदेशी तथा विदेशी पर्यटकले मेलाको अवलोकन गरेको मेलाको आयोजक जनप्रिय युवा क्लवका अध्यक्ष सुरज गुरुङले बताए ।
गुरुङका अनुसार मेलामा घोडा दौड, तारा खेल प्रतियोगिता, फुटबल प्रतियोगिता, नृत्यका साथै ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु द्धारा हास्यव्यंग्य तथा विशेष सांगितिक कार्यक्रम संचालन गरिएको थियो ।
मेलाको मुख्य आकर्षणको रुपमा रहेको घोडा दौड प्रतियोगितमा नेपाली सेना सैनिक उच्च शिखर शिक्षालयका राजकुमार अधिकारी अर्थात रोहित नाम गरेको घोडाले लगातार दोस्रो वर्ष प्रथम स्थान हासिल गरेको छ । त्यस्तै मनाङको एमएम सि क्लवले द्धितिय र तृतिय स्थान हासिल गरेको छ । उक्त घोडा दौडमा मुस्ताङ र मनाङका १४ जनाले सहभागिता जनाएका थिए ।
त्यसैगरी सेभेन ए साईड फुटबल खेलमा एयरपोर्ट युनाइटेड युवा क्लब एयरपोर्ट प्रथम, जनहित युवा क्लब जोमसोम द्धितिय र मिलन यूवा क्लब कागबेनी तृतिय हुन सफल भएका छन् । उक्त फुटबल खेलमा उत्कृष्ट खेलाडीमा एयरपोर्ट युनाइटेड क्लबका आकाश गुरुङले पुरस्कार पाए भने मिलन यूवा क्लबका छिरिङ गुरुङले सर्वाधिक गोल हान्ने खेलाडीको उपाधि जित्न सफल भएका छन् । त्यस्तै तारा खेलमा प्रथम आयोजक जनप्रिय युवा क्लव पुराङ रानीपौवा, द्धितिय मुक्तिनाथ युवा क्लब झारकोट र तृतिय स्थान निलगिरी युवा क्लव टुकुचेले प्राप्त गरेको छ । उक्त तारा खेलमा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार निलगिरी यूवा क्लब टुकुचेका दिनेश थकालीले जित्न सफल भएका छन् ।
मेलामा चर्चित हट एण्ड सेक्सी नेपाली सकिराको उपाधी पाएकी गायिक ईन्दिरा जोशी, हाँस्य टेलिश्रखंला मेरी बाँस्सैका कलाकार द्धय मरिचमान श्रेष्ठ उर्फ बल्छी धु्रबे र राजु पौडेल उर्फ मास्टर सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुले हाँस्यव्यग्य तथा विशेष साँगितिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
चार दिन सम्म संचालित उक्त मेलाको मुस्ताङका विभिन्न गाविस लगायत मनाङ, म्याग्दी, पर्वत, बागलुङ, कास्की, डोल्पा, रोल्पा संगै स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेको आयोजकले बताएको छ ।

No comments:

Post a Comment