Saturday, August 13, 2016

चीनसँगको कोराला नाका खुल्दै !

केशव विश्वकर्मा
मुस्ताङ २९ श्रावण
नेपाल र चीन जोड्ने उपल्लो मुस्ताङको कोरला नाका केही दिनका लागि संचालनमा आउने भएको छ ।
चिनियाँले टेण्ट निर्माण सामाग्री ढुवानी गर्दै
वर्षमा दुईपटक नाका खुलाइ व्यापारमेला संचालन गर्ने परम्परा अनुसार अगामी भदौ ४ गते देखि दुईहप्ताको लागि नाका संचालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले जानकारी दिए ।
चीनको ढोङवासेन जिल्लाको ढोमोकोलोमा अहिले चिनियाँहरुले व्यापारिक मेलाका लागि स्टल बनाइ रहेका छन् । उनीहरुले गेट खोले पनि नेपाली र चीनका स्थानीयको आवतजावत भएको छैन । प्रजिअ अधिकारीका अनुसार भदौ ४ बाट दुई हप्ताका लागि नाका खोल्न दुईपक्षीय सहमति भएको थियो ।
उपल्लो मुस्ताङको लोमाथाङ गाविसका सचिव घ्यूर्मि आङग्याल विष्टका अनुसार चिनियाँहरुले उपल्लो मुस्ताङका स्थानीयलाई किनमेलका लागि खबर गरेका छन् । हिउँद याममा हिउँकै कारण स्थानीयलाई हिँडडुलमा समस्या हुने हुँदा अहिल्यै व्यापार मेलाका लागि नाका खोल्न लागिएको गाविस सचिव विष्टले जानकारी दिए ।
वर्षमा दुई पटक आलोपालो चीन र नेपालको भूमिमा व्यापार मेला संचालन गर्ने सहमति भएको भएतापनि यस वर्ष दुई पटक नै चीनको भूमिमा मेला संचालन हुन लागेको हो ।
व्यापारमेलामा स्थानिय व्यापारिहरुले दैनिक उपभोग्य वस्तु, वियर रक्सी, जुस, लत्ताकपडा, काठ, सिमेन्ट, छड, जस्तापाता, सोलार, इलेक्ट्रिक सामान लगायतका वस्तुहरु आयात र खाद्य सामाग्री, चामल, मैदा, उवाँ, केराउ, सुकुटी, चाउचाउ, पसमिना (ऊन), लगायत स्थानिय उत्पादनका सामाग्री निर्यात गर्ने गरेका छन् ।
यस वर्ष गत असारको १ गते देखि २५ गते सम्मको लागि संचालन भएको व्यापारमेला चीनले सुरक्षा चूनौतिका देखाउँदै पूर्व निर्धारित समय भन्दा १० दिन अघि नै मेला बन्द गरेको थियो ।  

No comments:

Post a Comment