Friday, August 5, 2016

पुर्नसंरचनाका लागि प्रारम्भिक छलफल सम्पन्न !

मुस्ताङ साप्ताहिक संवाददाता
गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले तयार पारेको खाका अनुसार मुस्ताङमा ३ वटा गाउँ पालिका हुने भएका छन् ।
पुर्नसंरचनाको लागि संभावित उपल्लो मुस्ताङको घमी, चराङ, सुर्खाङ, लोमान्थाङ, छोसेर र छोन्हुप गाविस एक गाउँपालिका, बिच मुस्ताङको मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, छुसाङ र झोङ गाविस एक गाउँपालिका र तल्लो मुस्ताङको लेते, कुञ्जो, कोवाङ र टुकुचे गाविस एक गाउँ पालिका हुन सक्ने स्थानिय विकास अधिकारी हरि प्रसाद बास्तोलाले बताए ।
संभावित गाउँपालिकाको लागि उपल्लो मुस्ताङका ६ गाविसको क्षेत्रफल २०७१ वर्ग किमि, बिच मुस्ताङका ६ गाविसको क्षेत्रफल ११६२.४५ वर्ग किमि र तल्लो मुस्ताङका ४ गाविसको क्षेत्रफल ३२९.७२ वर्ग किमि रहेको जिल्ला नापी कार्यालयले जनाएको छ ।
प्रस्तावित मुस्ताङका ३ गाउँपालिका मध्ये उपल्लो मुस्ताङमा ९३६ घरधुरी ३ हजार ३ सय २२ जनसंख्या, बिच मुस्ताङमा १५६९ घरधुरी ५ हजार २ सय ५१ जनसंख्या र तल्लो मुस्ताङमा ८०० घरधुरी ३ हजार २० जनसंख्या रहेको बताइएको छ ।  
त्यस्तै स्थानिय तह पुर्नसंरचनाका आधार र मापदण्डका विषयमा स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधि र स्थानिय निकाय र स्थानिय तहको अवधारणाको विषयमा छलफल गरी आगामी जिल्ला स्तरीय परामर्श कार्यशालामा पुर्नसंरचना कार्यमा स्पष्ट र ठोस सुझाव प्राप्त गर्न सहयोग गर्ने उद्देश्यले व्यापक रुपमा प्रचारप्रसार गर्ने निर्णय गरिएको छ ।
स्थानिय पुर्नसंरचना प्राविधिक सहयोग समिति मुस्ताङका संयोजक एवं स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाको अध्यक्षतामा प्राविधिक सहयोग समितिका अन्य सदस्य, राजनीतिक दल तथा संचारकर्मीहरुको उपस्थितिमा स्थानिय तह पुर्नसंरचनाका आधार र मापदण्डका विषयमा श्रावण २० गते विहिवार जिल्ला विकास समितिमा गरिएको छलफले उक्त निर्णय गरेको हो ।
त्यसैगरी सो छलफल कार्यक्रमको सहजीकरण गर्दै जिविसका योजना अधिकृत जीवन ज्ञवालीले आगामी जिल्ला स्तरीय परामर्श कार्यशालामा पुर्नसंरचनाका लागि ठोस सुझाव प्राप्त गर्न आ–आफ्नो तहमा व्यापक छलफल गरि सुझाव संकलन गर्ने निर्णय गरेकोे बताए ।  

No comments:

Post a Comment