Wednesday, August 24, 2016

च्याङग्रा विकास स्रोतकेन्द्र फार्म चराङ–लोमान्थाङमा उपयुक्त !

 केशव बिश्वकर्मा
मुस्ताङ ८ भाद्र
नेपाल सरकार, पशुपंक्षी विकास मन्त्रालय पशुसेवा विभाग, पशु उत्पादन निर्देशनालयले मुस्ताङ जिल्लामा च्याङग्रा विकास स्रोतकेन्द्र फार्म स्थापना गर्न चराङ र लोमान्थाङ उपयुक्त रहेको बताएको छ ।
च्याङग्रा विकास स्रोतकेन्द्र फार्म स्थापना गर्नको लागि स्थान छनोट गर्ने विषयमा उपल्लो मुस्ताङको स्थलगत भ्रमण गरी प्राविधिक दृष्टिकोणले लोमान्थाङ र चराङ गाविसको जग्गा उपयुक्त देखिएको पशु उत्पादन निर्देशनालयका पशु विकास अधिकृत मेघराज ढकालले जानकारी दिए ।
पशु विकास अधिकृत ढकालका अनुसार च्याङग्रा विकास स्रोतकेन्द्र फार्मको प्रयोजन एवं चरन तथा घाँस विकासको लागि आवश्यक पर्ने पानीको उपलब्धता लोमान्थाङमा सुम्दा खोला र चराङमा चराङ खोलाबाट हुने भएकाले सो स्थानमा आवश्यक पूर्वाधार निर्माण गर्नको लागि उपयुक्त रहेको छ ।
स्रोतकेन्द्र फार्म स्थापनाको लागि लोमान्थाङमा ५ सय हेक्टर र चराङमा ५ हेक्टर गरी आवश्यक १ हजार हेक्टर जग्गा चराङ–लोमान्थाङको सीमावर्ती क्षेत्रमा उपलब्ध गराउन सो क्षेत्रका स्थानिय सहमत भएका छन् ।
चराङ गाविस सँग सीमाना जोडिएको स्थानबाट लोमान्थाङ गाविस तर्फ मोटर बाटोले छोएको चरन क्षेत्र पानीको मुहान उपलब्ध हुने गरी ५ सय हेक्टरमा नघटाई च्याङग्रा विकास स्रोतकेन्द्रको नाममा जग्गा उपलब्ध गराउन र फार्म स्थापनाका लागि घाँस तथा चरन विकास प्रयोजनमा आवश्यक पर्ने पानी सुम्दा खोलाबाट स्रोतकेन्द्र सम्म लैजान लोमान्थाङ गाविसले सहमति प्रदान गरेको जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. नन्दलाल बर्माले बताए ।
त्यसैगरी लोमान्थाङ गाविस सँग सीमाना जोडिएको स्थानवाट चराङ गाविस तर्फ मोटर बाटोले छोएको चरन क्षेत्रको ५ सय हेक्टर नघटाई फार्म स्थापना गर्न आवश्यक पर्ने सिंचाईको लागि पानी तथा खानेपानी चराङ खोलाबाट सो स्थानसम्म लैजान चराङ गाविसले पनि सहमति प्रदान गरेको छ ।
परम्परागत च्याङग्रा पालनमा वैज्ञानिक पूर्वाधार स्थापना गरी परम्परागत व्यवसायमा सुधार गर्दै उत्पादनमा वृद्धि गरी पशु प्रवद्र्धनमा टेवा पु¥याउन नेपाल सरकार पशुपंक्षी विकास मन्त्रालय पशुसेवा विभाग, पशु उत्पादन निर्देशनालयले आ.व. ०७३÷०७४ को वार्षिक स्विकृत बजेट अन्तर्गत मुस्ताङमा च्याङग्रा पालन स्रोत केन्द्र स्थापना गर्न लागेको हो ।
भेडाच्याङग्राबाट उत्पादन हुने पस्मिना युरोप अमेरिका लगायतका देशहरुमा एकदम बढि माग हुने गरेकाले पस्मिना उत्पादलाई प्रोमोट गर्न र पशुपालनमा सबैभन्दा बढि च्याङग्राको मासु र पस्मिना महंगो मुल्यमा विक्रि हुने हुदाँ मुस्ताङमा सो केन्द्र स्थापना गर्न लागेको केन्द्रिय भेडाबाख्रा प्रवद्र्धन कार्यालयका अधिकृत ईश्वरी खतिवडाले जानकारी दिए ।
च्याङग्राको आहाराको आपूर्ति नियमित बनाउन मौसमको प्रतिकुलता बाट संरक्षण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न घाँसमा आधारित संरक्षित आहारा हे र साइलेजका साथै टिएमआर लगायत आवश्यक दाना समेतको माध्यमबाट आहारा व्यवस्थापन गरी व्यवसाय स्थापित गर्ने वरिष्ठ पशु विकास अधिकृत डा. बर्माको भनाई छ ।
च्याङग्रा विकास स्रोतकेन्द्र फार्मको नाममा जग्गा प्राप्त गरी लालपूर्जा उपलब्ध हुने सम्मका प्रकृयाहरु अघि बढाउन जिल्ला पशुसेवा कार्यालय मुस्ताङले तदनुसारका कार्यहरु गर्ने बताईएको छ ।

No comments:

Post a Comment