Tuesday, August 16, 2016

मुस्ताङ आउने पर्यटक ०.३५ प्रतिशतले घटे !

केशव विश्वकर्मा
मुस्ताङ, ३२ श्रावण

पर्यटकको तेस्रो गन्तव्यको रुपमा विश्वमा स्थापित हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा आ.व. ०७२ र ०७३ मा एक वर्षको अवधिमा २९ हजार पर्यटकले भ्रमण गरेका छन् । यो संख्या गत वर्षको भन्दा ०.३५ प्रतिशतले कमि हो । सन् २०१५ को जुलाई १७ देखि २०१६ जुलाई १५ सम्म २९ हजार ८ सय ४८ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मुस्ताङकी प्रमुख निरु थापाले जानकारी दिइन् ।
प्रतिकुल मौसम, अविरल वर्षासँगै गएको पहिरोले सडक अवरुद्ध हुनु, भारतको अघोषित नाका बन्दीका कारण इन्धनको अभावले यातयात कम संचालनमा हुनुले पर्यटकको संख्यामा कमि आएको एक्याप प्रमुख थापाको भनाइ छ ।
आर्थिक वर्ष ०७१÷०७२ मा २९ हजार ९ सय ५२ जना, आ.व ०७०÷०७१ म ४१ ह्जार ५ सय ८० जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । २०१६ मा पर्यटकको संख्यामा ह्रास आएको छ ।
एक्याप प्रमुख थापाका अनुसार एक्यापले सन् १९९५ देखि जिल्लामा भित्रिने पर्यटकको तथ्यांक राख्दै आएको हो । त्यसयता सन् २०१२ मा सबैभन्दा धेरै ४७ हजार सात १२ पर्यटक मुस्ताङ आएका थिए ।
सन् २०१२ पछि बढी पर्यटक २०१४ मा भित्रिएका थिए । यसले नेपालमा पर्यटकमैत्री वातावरण बन्दै गएको छ भन्ने प्रमाणित गरेपनि प्राकृतिक प्रकोपक । नाकाबन्दीका कारण यस वर्ष पर्यटकको संख्यामा कमि आएको हो ।
एक्याप मुस्ताङको विवरण अनुसार, जनवरीमा १ सय ३७, फेबु्रवरीमा ४ सय ५५, मार्चमा २ हजार २ सय ७, अप्रिलमा ४ हजार ८, मेमा ४ हजार ९ सय  ९३, जुन– जुलाई १५ सम्म १ हजार ३ सय ८१ पर्यटक जिल्लामा प्रवेश गरेका छन् ।
त्यसैगरी गत वर्ष जनवरीमा २ सय २७, फेबु्रवरीमा ८ सय ५७, मार्चमा ३ हजार ६९, अप्रिलमा ६ हजार २ सय ३४, मेमा १ हजार २ सय ३५, जुनमा ५ सय २७ र जुलाई १६ सम्ममा २ सय ५६ पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।
मुक्तिनाथ मन्दिर, लोमान्थाङ दरबार, राउन्ड अन्नपूर्ण पदमार्गको थोराङला पास सहित विभिन्न हिमशृंखलार कला संस्कृतिको अध्ययनका लागि मुस्ताङमा दुई प्रकारका पर्यटक आउने गरेका छन् । यसरी आउनेमध्ये सबैभन्दा बढी भारतीय पर्यटक नै रहेका छन् ।
छोटो अवधिका लागि धार्मिक पर्यटक र पदयात्राका लागि तेस्रो मुलुकबाट पर्यटक आउने गरेका छन । पछिल्ला केही वर्षहरूमा तेस्रो मुलुकका पर्यटक घटेको र धार्मिक र छोटो अवधिका लागि आउने पर्यटक बढेको एक्याप प्रमुख थापले जानकारी दिइन् । लामो दुरीमा पदयात्रा गर्न र हिमशृंखलाको अवलोकन नै तेस्रो मुलुकका पर्यटकको एकमात्र चाहना हुन्छ । छोटो अवधि र हिन्दु मुल्यमान्यताका अनुसार मुक्तिनाथको दर्शन विना धार्मिक यात्रा पुरा नहुने विश्वासका कारण धार्मिक पर्यटकका लागि मुस्ताङ अझै केन्द्रबिन्दु बनेको छ ।
 अहिलेको अवस्थामा तेस्रो मुलुकका पर्यटकलाई आकर्षित गर्नु चुनौती रहेको जानकारहरुको भनाइ छ । अन्य महिनामा अघिल्लो साल पनि त्यसैको हाराहारीमा अर्थात बढि पर्यटक आएका थिए । प्रतिकुल मौसम र प्राकृतिक प्रकोपले पछिल्लो समयमा सोचेको भन्दा कमि पर्यटक आएका हुन् ।
सन् २०१५ जुलाई देखि २०१६ जुलाई सम्म २९ हजार ८ सय ४८ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । यो संख्या सन् २०१५ जुलाई सम्म भन्दा ०.३५ प्रतिशतले कमि हो ।

No comments:

Post a Comment