Saturday, August 20, 2016

चीनसंगको कोरला नाका खुल्यो, व्यापारमेला शुरु !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ ४ भाद्र
उत्तरी छिमेकी राष्ट्र चीन र नेपाल बिच संचालन हुँदै आएको अन्तरदेशीय व्यापार मेला शनिवार देखि शुरु भएको छ । मेला शुरु भएसंगै केही दिनको लागि कोरला नाका पनि खुलेको छ ।
उपल्लो मुस्ताङका स्थानिय व्यापारी र चीनको तिब्बतका व्यापारी बिच वर्षको दुईपटक कोरला नाका खुलाई व्यापारमेला संचालन गर्ने परम्परा अनुसार मेला शुरु भएको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले जानकारी दिए ।
वर्षमा दुई पटक आलोपालो चीन र नेपालको भूमिमा व्यापार मेला संचालन गर्ने सहमति भएको भएतापनि यस वर्ष दुई पटक नै चीनको भूमिमा मेला संचालन भएको हो ।
यस वर्ष गत असारको १ गते देखि २५ गते सम्मको लागि संचालन भएको व्यापारमेला चीनले सुरक्षा चूनौतिका देखाउँदै पूर्व निर्धारित समय भन्दा १० दिन अघि नै मेला बन्द गरेको थियो ।  
अहिले कोरला नाका देखि करिब १० किलोमिटर भित्र चीनको ढोङवासेन जिल्लाको ढोकोमोलोमा व्यापार मेला संचालन भैरहेको लोमान्थाङका गाविस सचिव घ्यूर्मि आङग्याल विष्टले जानकारी दिए । व्यापारमेलामा चीनसंगको कोरला नाका खुलाई चिनिया र नेपालीहरु निर्वाध रुपमा आवतजावत गर्छन् । मेला दुईहप्ता सम्म संचालन हुने प्रजिअ अधिकारीले बताए ।
उपल्लो मुस्ताङको लोमाथाङ गाविसका सचिव विष्टका अनुसार चिनियाँ र नेपालीहरु बिच सामान किनमेल भैरहेको छ । हिउँद याममा हिउँकै कारण स्थानीयलाई हिँडडुलमा समस्या हुने हुँदा अहिल्यै नाका खोली व्यापार मेला संचालन गरिएको गाविस सचिव विष्टको भनाई छ ।
व्यापारमेलामा स्थानिय व्यापारिहरुले दैनिक उपभोग्य वस्तु, वियर, रक्सी, जुस, लत्ताकपडा, काठ, सिमेन्ट, छड, जस्तापाता, सोलार, इलेक्ट्रिक सामान लगायतका वस्तुहरु आयात र खाद्य सामाग्री, चामल, मैदा, उवाँ, केराउ, सुकुटी, चाउचाउ, पसमिना (ऊन), वियर, रक्सी लगायत स्थानिय उत्पादनका सामाग्री निर्यात गर्ने गरेका छन् ।

No comments:

Post a Comment