Wednesday, August 3, 2016

मुस्ताङमा ७ करोड भन्दा बढि रकम फ्रिज !

केशव विश्वकर्मा
मुस्ताङ, १९ श्रावण
हिमालपारीको जिल्ला मुस्ताङमा ७ करोड भन्दा बढि रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७२ र ७३ मा कुल पूंजीगत खर्च तर्फ २४ दशमलव ०१ प्रतिशत अर्थात ७ करोड ४३ लाख ११ हजार ३ सय ७ रुपैयाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक गोकर्णराज सुयलका अनुसार पूंजीगत तर्फ २४ दशमलव ०१ प्रतिशत र चालु तर्फ ६ दशमलव ११ प्रतिशत अर्थात ६ करोड ४१ लाख ७० हजार २ सय ४६ रुपैयाँ खर्च हुन नसकेको हो ।
पूर्वाधार विकास तर्फ (पूंजीगत खर्च) निकासा भएको ३० करोड ९४ लाख ६८ हजार ९ सय आर्थिक बजेट मध्ये २३ करोड ५१ लाख ५७ हजार ५ सय ९३ रुपैया २५ पैसा खर्च भएको छ । त्यस्तै चालु खर्च तर्फ निकासा भएको १ अरब ५ करोड १८ लाख ८५ हजार ६३ रुपैयाँ ९९ पैसा आर्थिक बजेट मध्ये ९८ करोड ७७ लाख १४ हजार ८ सय १७ रुपैयाँ ८५ पैसा खर्च भएको कोष नियन्त्रक सुयलले जानकारी दिए ।
गत आर्थिक वर्षमा जिल्लाको विकासका लागि पूंजीगत तर्फ छुट्टिएको २० करोड ७६ लाख ५० हजार नौसय १४ मध्ये १६ करोड ७५ लाख २३ हजार तीनसय ५० रुपैया खर्चभएको थियो । जुन कुल पूंजीगत तर्फको ८० दशमलव ६८ प्रतिशत हो । त्यस्तै चालु तर्फ कुल ९५ करोड २५ लाख ७२ हजार ६ सय ७ रुपैया २४ पैसा मध्ये ७८ करोड ७५ लाख ९२ हजार ७ सय ८८ रुपैया १८ पैसा खर्च भएको थियो । जुन ८२ दशमलव ६८ प्रतिशत हो ।
 गत बर्ष भन्दा यस बर्ष पुर्वाधार बजेट धेरै भएपनि बजेटको अख्तियारी ढिलो आउने र मुस्ताङ हिमाली जिल्ला भएकाले चिसोका कारण हिउँद महिनामा काम गर्न नसकिने भएकाले बजेट फ्रिज हुने गरेको बताइएको छ ।
विगतमा निकासा भएको रकम खर्च गर्ने क्षमता नभए रकम फ्रिज हुने गरे पनि यस पटक निकासा नगरी सिधै सरकारी खातामा फिर्ता हुने व्यवस्था रहेको छ ।

No comments:

Post a Comment