Thursday, May 11, 2017

समृद्ध थासाङ मेरो अभियानः विशाल बिक

केशव बि.क.
 मुस्ताङ । स्थानिय तहको निर्वाचनामा मुस्ताङको थासाङ गाउँपालिकाको बागडोर सम्हाल्न नेकपा माओवादी केन्द्रको तर्फबाट विशाल बिकले आफ्नो उम्मेदवारी दर्ता गराउँदै चुनावी मैदानमा होमिएका छन् । थासाङलाई सुविधा सम्पन्न समृद्ध गाउँपालिका बनाउन आफु गाउँपालिकाको अध्यक्षको दाबेदारको रुपमा जनसमुदायसामु आएको बिकले बताए ।  थासाङ विभिन्न संभावना बोकेको क्षेत्र भएकाले विकासको लागि विभिन्न स्रोत साधनको पहिचान र परिचालन गरी अगाडी बढने र कृषि आधुनिकीकरण र पशुपालनलाई उच्च प्राथमिकताका साथ अगाडी बढाई जीविकोपार्जनमा सुधार गर्ने, समाजमा विद्यमान कलासंस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन पूर्वाधार निर्माणमा जोड दिने बिकको भनाई छ ।
अध्यक्षका पदका दाबेदार उर्जाशील, विकासप्रेमी, जुझारु युवा उम्मेदवार विकले स्थानिय निकायमा उपलब्ध कच्चा पदार्थको उपयोग गरी औधोगिक इलाका बनाई प्रत्येक थासाङबासीलाई रोजगारी र व्यवसायमा संलग्न गराउने र आगामी ५ वर्षमा आयात घटाई निर्यात बढाउने, खनिजहरुको पहिचान गरी उपयोग गर्ने र कालीगण्डकीमा रहेको गिटी बालुवाको उत्खनन गरी आर्थिक संमृद्धि तर्फ गाउँपालिकालाई अगाडी बढाउने लक्ष्य रहेको बताए ।
बिकले समाजमा पछाडि परेका दलित, महिला, विपन्न वर्गलाई राज्यको मुलधारमा ल्याउनको लागि योजनाबद्ध ढंगले अगाडी बढने र थासाङलाई छुवाछुत मुक्त गाउँपालिका बनाउने, जनतालाई शिक्षा र स्वास्थ्यको प्रत्याभूति दिलाउन अनिवार्य शिक्षा प्राविधिक कलेजहरुको स्थापना र सुविधा सम्पन्न अस्पतालको निर्माण गर्ने र भूमिहीनलाई लिज सिष्टममा भूमि उपलब्ध गराई आर्थिक उपार्जन तर्फ अगाडी बढाउने योजना रहेको उल्लेख गरे ।
थासाङमा बसपार्क, गाउँपालिकाका प्रत्येक वडामा सडक संजालको विस्तार र वैकल्पिक पदमार्गको विकास, संचारको विस्तार गरी प्रत्येक नागरीकमा सुचनाको पहुँच पु¥याउने र खेलकुदको विकासका लागि उचित व्यवस्था मिलाउने लक्ष्य रहेको उम्मेदवार विक बताउँछन् ।
मुस्ताङको इतिहासमै पहिलोपटक दलित समुदायबाट थासाङ गाउँपालिकाको प्रमुख दाबेदारको रुपमा नेकपा माओवादी केन्द्रको तर्फबाट आफ्नो उम्मेदवारीलाई जनताले स्वागत र समर्थन गरेको बताउँदै उनले कुनै पनि चलखेलमा  नपरी स्वतन्त्र पूर्वक नेकपा माओवादी केन्द्रलाई हसिया हतौडा चिन्हमा मतदान गरी बिजयी गराउन आम जनसमुदायमा अपिल गरेका छन् ।

No comments:

Post a Comment