Thursday, May 11, 2017

युवा नेतृत्व र विकासका लागि मेरो उम्मेदवारीः कोरीसा विक

    तत्कालिन कोवाङ गाविसका सचिव बुद्धि बि.क.को सुपुत्री कोरीसा बि.क. यतिखेर स्थानिय निकायको निर्वाचनमा थासाङ गाउँ पालिकाको उपाध्यक्ष पदमा आफ्नो स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । २४ वर्षिया कोरीसा मुस्ताङकै सबैभन्दा कम उमेरकी उम्मेदवार हुन् । आफ्नो अध्ययन संगसंगै सामाजिक कृयाकलापमा सदैव सकृय रहने समाजको विकास र परिवर्तनको पक्षमा लागिरहने विक एक कर्मठ, जुझारु युवा उम्मेदवार हुन् । कुनैपनि राजनीतिक दलमा आवद्ध नरही समृद्ध थासाङको लागि उपाध्यक्षमा आफु स्वतन्त्र रुपमा प्रस्तुत भएकी छन् । उर्जाशिल युवा उम्मेदवार कोरीसा विकसंग मुस्ताङ साप्ताहिकले गरेको कुराकानी । 
थासाङ गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारको रुपमा चुनावमा जाँदै हुनुहुन्छ । कस्तो लागिरहेको छ ?
    संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी हामी सम्पूर्ण नेपालीको काँधमा आएको छ । हामीले हासिल गरेका उपलब्धीहरु संस्थागत गर्न आगामी बैशाख ३१ गते आसन्न स्थानिय तहको निर्वाचन हुँदैछ । म आसन्न स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा प्रस्तुत भएकी छु, अत्यन्तै खुःसी, चुनौती र केही गर्नपर्छ समाजका लागि भन्ने सोँचका साथ लागिरहेकी छु । किनकि म मुस्ताङको दलित र विपन्न समुदायको महिलाको रुपमा चुनावी मैदानमा छु र मेरो यो पहिलो अभ्यास पनि हो । आफुलाई समाजको जिम्मेवार नागरिकको रुपमा लिएकी छु ।
तपाई केका लागि चुनाव लड्दै हुनुहुन्छ ?
    करिब २० वर्ष देखि हाम्रा स्थानिय निकायहरु जनप्रतिनीधि बिहिन थिए । स्थानिय तहमा जनप्रतिनीधिहरु नहुँदा विकासका काम अलमलमा परि यसले गतिलिन सकेको छैन् । पछिल्लो संघीय संरचना अनुसार स्थानिय तहको निर्वाचन नजिदिँदै छ । म साँनै देखि  विकासमा चासो राख्ने भएकाले समाजका विभिन्न कृयाकलापमा सकृय रहँदै आएको सर्वविधितै छ । अब राष्ट्र निर्माणका लागि युवा जाग्नुपर्छ भन्ने सोँचका साथ स्वतन्त्र उम्मेदवारको रुपमा गाउँपालिकाको उपाध्यक्ष पदमा चुनावमा लड्दै छु ।  
कोरीसा विकलाई मतदाताले  किन मतदान गर्ने ?
    हालसम्म मुस्ताङको इतिहासमा दलित समुदाय गाविस अध्यक्ष, उपाध्यक्ष, जिविस सदस्य, सभापति बनेको अवस्था छैन् । देशको बदलिदो परिस्थितिमा दलित समुदाय पनि नेतृत्व गर्न सक्षम छन् भन्ने सन्देश दिने मेरो उम्मेदवारी हो । र समाजको विकासका निम्ति युवा जोस जाँगर संगै यस्तो ऐतिहासिक घडीमा उभिएको यो समुदायको छोरी मलाई सबै पक्षले मतदान गर्नुहुन नितान्त आवश्यक छ । विगत देखि वर्तमान सम्म हामीले अरु समुदायलाई भोट हाली जितायाँै अब उहाँहरुको मतदानले हामीले पनि जित्ने अवस्था आएको छ । दलित, महिला, उत्पीडित वर्गको उत्थानको लागि पनि मलाई सम्पूर्ण थासाङवासीको साथ, सहयोग र समर्थनको आवश्यकता छ ।
चुनाव जित्नुहुन्छ ? केही आधार छ ?
म चुनाव जित्ने कुरामा विश्वस्त छु । किनकि मेरो उम्मेदवारीलाई सम्पूर्ण थासाङवासीले स्वागत गर्नुभएको छ । सबैले हौसला प्रदान गर्नुभएको छ । त्यस्तै थासाङ गाउँपालिकामा दलित जनमत दोस्रो स्थानमा छ । र उहाँहरुले दलित उत्थानको लागि आफ्नो समुदायको पक्षमा मतदान गर्नुहुनेछ । र स्वतन्त्र समुहले मलाई मतदान गर्ने        कुरा त भइनै हाल्यो, अनि एमाले पार्टीसंग चुनावी एकता भएकाले एमालेका मतदाताले पनि मलाई मतदान गर्नु हुनेछ । र माओवादी कांग्रेसको तर्फबाट पनि मलाई मतदान गर्ने विश्वास लिएकी छु । यस प्रकारले यस निर्वाचनमा मेरो विजयी सुनिश्चित छ ।
तपाईको थासाङको विकास प्रतिको दृष्टिकोण (एजेण्डा) के हो ?
    सर्वप्रथम त हामी विजयी भएपछि थासाङ गाउँपालिकाको हरेक पक्षमा समग्र विकास गर्ने नै हो । समाज र राष्ट्र बदल्नका लागि युवा नेतृत्व अहिलेको आवश्यकता हो । साथसाथै यस गाउँपालिका भित्र रहेका विपन्न, महिला, दलित लगायतका समुदायको विकास र समृद्धि जीवनस्तर उठाउनलाई मेरो विशेष प्राथमिकता रहने छ । कलासंस्कृतिको संरक्षण गर्दै यहाँका स्रोतसाधनको पहिचान र परिचालन गरी थासाङ गाउँपालिकाको चौतर्फी विकासमा  लागि अहोरात्र खटिने मेरो उद्देश्य हो । समाजमा रहेका प्रत्येक नागरिकको हकहितको संरक्षण गर्दै विकासको अग्रगामी छालाङ मर्न मेरो योगदान रहने प्रतिवद्धता व्यक्त गर्दछु ।
अन्तमा मुस्ताङ साप्ताहिक मार्फत मतदातालाई के भन्न चाहनुहुन्छ ?
  धौलागिरीको लोकप्रिय पत्रिका मुस्ताङ साप्ताहिक मार्फत म कोरीसा वि.क. थासाङ गाउँपालिकाको स्वतन्त्र उपाध्यक्ष पदको उम्मेदवार हुँ । थासाङवासी सम्पूर्ण आमावुवा, दाजुभाई, दिदीबहिनी तथा शुभचिन्तकहरुले मेरो उम्मेदवारीलाई सहर्ष स्वीकार गरी भ्यागुतो चिन्हमा तपाईको अमुल्य मतदान गर्नुभई मलाई थासाङको विकास गर्ने अवसर प्रदान गर्नलाई अनुरोध गर्दछु ।
धन्यवाद ।
प्रस्तुतिः केशव बि.क. 

No comments:

Post a Comment