Thursday, May 11, 2017

समृद्ध बाह्रगाउँ बनाउँछुः रमेश गुरुङ

रमेश गुरुङ एक उर्जाशिल जुझारु युवा हुन् । जो २८ वर्षमा बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको बागडोर सम्हाल्न नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हुन् । विगत १० वर्ष देखि अध्ययन संगसंगै अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा सकृय भई हाल युवा संघ नेपाल मुस्ताङको जिल्ला अध्यक्ष यवं नेकपा एमाले जिल्ला कमिटी मुस्ताङको सदस्य रहेर राजनीतिमा सकृय युवा गुरुङ विभिन्न सामाजिक संघसंस्थामा कृयाशिल रहँदै आएका छन् । उनै गुरुङसंग बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको चुनावको सन्दर्भमा मुस्ताङ साप्ताहिकका सम्पादक सुन्देवी रसाईलीले गरेको कुराकानी । 
१. तपाई बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष पदको प्रतिस्पर्धामा हुनुहुन्छ । कस्तो छ अवस्था ?
अहिले यस बाह्रगाउँ मुक्तिक्षेत्रमा हाम्रो पार्टी नेकपा एमालेले युवा उम्मेदवारको रुपमा मलाई अगाडी सारेको छ । र अहिलेको समयको माग पनि युवाहरु नै नेतृत्वमा आई शिक्षित ताजा मष्तिष्क भएको युवा पंक्तिले आफ्नो ठाउँको विकास गर्नुपर्दछ । विदेशिनु हुँदैन भन्ने चाहना रहेको हुँदा मेरो उम्मेदवारीलाई सबैले स्वीकारेको अवस्था हो ।
२. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा चुनावी प्रतिस्पर्धामा जाँदा कस्तो प्रकारको एजेण्डा लिएर जानु भएको छ ?
हिजोको केन्द्रमुखि एकात्मक शासन व्यवस्थाको चुनाव र अहिले हुन गैरहेको स्थानिय तह अर्थात गाउँपालिका चुनाव एकै प्रकारका होइनन् । केन्द्रले बजेट दिएर विकास गरौँला भनेर केन्द्रको मुख ताकेर बस्ने अवस्था होइन् । यहाँ त स्थानिय स्रोत साधन पहिचान र उपयोग लगायतबाट आम्दानी गर्ने र यहि ठाउँको विकास गर्ने हो ।
३. त्यसो भए के हुन त स्थानिय स्रोत साधनहरु ?
हामीसंग भएको गिटी बालुवालाई कानुन सम्मत ढंगले निकासी गर्न सकिन्छ, खाली रहेका भूभागमा लिजको कन्सेप्टमा खेती गर्न सकिन्छ । यस क्षेत्रलाई फिल्म हवको रुपमा विकास गर्न सकिन्छ लगायतका थुप्रै संभावनाहरु छन् । समय अनुसार पहिचान गर्दै अगाडी बढने हो ।
४. तपाई चुनाव जित्नु भयो भने बाह्रगाउँ मुक्तिक्षेत्रको विकासमा कस्तो प्रकारको योजना लागु गर्नुहुन्छ ?
सर्वप्रथमत मुक्तिनाथ मन्दिर परिसर र कागबेनी त्रिवेणीलाई बृहद गुरुयोजना बनाई दिगो विकासको योजना कार्यान्वयन गर्ने, तेताङको नुन उत्पादन र प्रशोधन अगाडी बढाउने, तेताङको भुकम्प पीडित बस्तीलाई पुर्नवासको व्यवस्था गर्ने, घ्याकरमा मोटरबाटो पु¥याउने, छुसाङमा तटबन्ध गर्ने, तिरीमा जोडने मोटरेबल पुल बनाउने, ताङवेमा अर्गानिक कृर्षि खेती र वैकल्पीक सिचाईको व्यवस्था गर्ने, कागबेनीमा स्तरीय धर्मशाला निर्माण गर्ने, खिंगामा अर्गानिक खेती, पशुपालन, पर्यटन विकास लगायतका कार्यक्रम गर्ने, त्यसैगरी झोङ मुक्तिनाथ क्षेत्रमा भ्यूटावर निर्माणका साथसाथै लुप्रामा मोटरबाटो निर्माण र स्याउ खेतीको लागि सिँचाई र तटबन्ध गर्ने । र लुप्रामा मोबाइल टावर निर्माण, ढाकरजोङ, फल्याक र लिफ्ट सिँचाईको व्यवस्था, साङतामा मोटरबाटोको स्तरोन्नती र वैकल्पिक विद्युतीकरण र मोबाइल टावरको व्यवस्था गर्ने योजना रहेको छ । संगसंगै बाह्रगाउँ क्षेत्रको कलासंस्कृति रीतिरिवाजको संरक्षण र सम्बर्धन गरी पर्यटन बढाउने कार्य पनि अगाडी बढाउने छु ।
५. एजेण्डाहरु त पस्किनु भो के यो सम्भव छ ? तपाईको कार्यकालमा ?
किन सम्भव नहुनु । म आफैँ केही गरौँ भन्ने भावना बोकेको जुझारु युवा हुँ । मैले मेरो गाउँपालिका क्षेत्रका युवाहरुलाई आफ्नै गाउँमा आयआर्जन र रोजगारी को अवसर सृजना गर्नेछु । र आगामी ५ वर्षमा शिक्षा, स्वास्थ्य, जेष्ठ नागरिक तथा सम्पूर्ण गाउँपालिकावासीको विकास र समृद्धिको पक्षमा काम गर्दै मुस्ताङको नमुना यवं समृद्ध गाउँपालिका बनाउने प्रतिवद्धता जाहेर गर्दछु ।
६. प्रसंग बदलौँ, तपाईको गाउँपालिकामा एमाले र कांग्रेस विचको प्रतिस्पर्धा देखिन्छ ? चुनाव जित्ने के छ आधार ?
जसको नीति उसकै नेतृत्व भन्ने एमाले पार्टीको मार्गनिर्दशक सिद्धान्त हो । र राष्ट्रले पनि अहिले एमालेको नीति र नेतृत्व खोजी रहेको अवस्थामा यस गाउँपालिकामा पनि जनताको असली सहारा, विकासप्रेमी पार्टी र जनताको सुःख दुःखको साथी एमाले हो भन्ने बुझेर मेरो उम्मेदवारीलाई आत्मसाथ गरेको अवस्थामा मलाई जनताको साथ सहयोग र समर्थन रहेको छ । मेरो विजय सुनिश्चित छ ।
७. अन्तमा पत्रिका मार्फत केहि भन्नु छ कि ?
लोकप्रिय पत्रिका मुस्ताङ साप्ताहिक मार्फत विगतको चुनावमा जस्तो जनतालाई खसी बोकाको रुपमा किनबेच गर्ने कार्य भयो । यसबाट आम मतदाता होसियार र चनाखो रहनु पर्दछ । र तपाईहरुकै भाईछोरा छिमेकी र समस्त बाह्रगाउँको विकासप्रेमी शुभचिन्तक रमेश गुरुङलाई सुर्य चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजयी गराउनु भई समृद्ध बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका बनाउने अवसर प्रदान गर्नुहोस भन्ने अनुरोध गर्दछु ।
धन्यवाद ।

No comments:

Post a Comment