Thursday, May 11, 2017

समृद्ध घरपझोङको लागि मेरो उम्मेदवारीः आसबहादुर थकाली

हिमाली जिल्ला मुस्ताङमा वि.सं. २०१२ सालमा जन्मिएका आस बहादुर थकाली अभावमा हुर्किए । समाजसेवामा सदैव लागिरहे । यतिखेर उनी मुस्ताङ जिल्ला सदरमुकामको घरपझोङ गाउँपालिकाको प्रमुख दाबेदारको रुपमा प्रस्तुत भएका छन् ।
अध्ययनको क्रममा बुटवल बहुमुखि क्याम्पस बुटवलबाट विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका थकाली वि.सं. २०४० सालमा नेकपा एमालेको संगठित सदस्य बने । उनी दुई कार्यकाल एमाले जिल्ला कमिटी मुस्ताङको उपसचिव र हाल पार्टीको सचिव पदमा जिम्मेवारी सम्हाली रहेका छन् ।
 ०४६÷०४७ र ०६२÷६३ को जनआन्दोलनमा सक्रिय सहभागी थकालीले २०५४ सालमा तत्कालिन मार्फा गाविसको उपाध्यक्ष पद धारण गरे । समाजसेवामा आफुलाई सकृय रुपमा प्रस्तुत गरिरहे । सामुदायिक बनउपभोक्ता महासंघको दुई कार्यकाल अध्यक्ष भएर जिम्मेवारी सम्हालेका उनले अन्नपूर्ण संरक्षण क्षेत्र(एक्याप)को सिएमसी मा दुईकार्यकाल सचिव र दुईकार्यकाल अध्यक्ष पदमा रहि कार्यसम्पादन गर्दै आएका छन्। तीन गाउँले थकाली सेवा समितिको सचिव र थाक पाँचगाउ उद्धार समितिको उनी अध्यक्ष समेत हुन्। उनै विकासप्रेमी प्रगतिशिल विचार धाराका आसबहादुर थकालीसंग मुस्ताङ साप्ताहिकका समाचार प्रमुख केशव बि.क ले गरेको कुराकानी ।
१. घरपझोङ गाउँपालिकाको प्रमुखमा नेकपा एमालेको तर्फदेखि आफ्नो उम्मेदवारी दर्ता गर्नु भएको छ । तपाईको उम्मेदवारी केका लागि ?
नेकपा एमाले एउटा विकासप्रेमी पार्टी हो । म यस पार्टीमा सकृय रुपमा लागेको हुनाले मलाई पार्टीले विश्वास गरेर घरपझोङ गाउँपालिकाको अध्यक्षको लागि टिकट दियो । आम घरपझोङवासीको चाहना अनुरुपको विकासको निर्माणको कार्य संचालन गर्दै घरपझोङ गाउँपालिकालाई समृद्ध बनाउनको लागि मेरो उम्मेदवारी हो ।
२. जनताले नेकपा एमाले अर्थात तपाईलाई भोट किन दिने ?
देशको विकास गर्ने एकमात्र पार्टी नेकपा एमाले हो र मैले एमालेबाट घरपझोङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएको छु । म समाज र राष्ट्रका लागि केही गर्नु पर्छ भन्ने भावना भएको व्यक्ति हुँ । मैले विगतका दिन देखि नै समाजका सकारात्मक कृयाकलापमा सँधै सकृय रुपमा लागिरहेको आम जनसमुदायमा सर्वविधितै भएको कुरा हो । जीवनको यो कालखण्ड सम्म आउँदा समाज परिवर्तन र विकासको निम्ति सँधै अगाडी बढि रहेको छु । र हाल स्थानिय तहको निर्वाचनमा यस घरपझोङ गाउँपालिकाको प्रमुख दाबेदारको रुपमा प्रस्तुत भैरहेको छु । समाजको विकास गर्ने मेरो पहिल्यै देखिको चाहना हो र अहिले गाउँपालिकाको प्रमुख भएर समुदायमा विकासको प्रत्याभूति दिलाउन चाहन्छु । यसका लागि मलाई घरपझोङवासी जनताको साथ अपरिहार्य छ । यो स्थानिय तहको निर्वाचनमा जनताले सुर्य चिन्हमा मतदान गरी मलाई विजयी गराउन अनुरोध गर्दछु ।
३. घरपझोङ गाउँपालिकाको विकास प्रति तपाईको दृष्टिकोण के छ ? तपाईका एजेण्डाहरु ?
मुस्ताङ ऐतिहासिक महत्व बोकेको भौगोलिक विविधता भएको जिल्ला हो । यो समृद्धिका लागि प्रशस्त संभावनाहरु बोकेको जिल्ला पनि हो । यहाँ विकासका लागि कृषि, पर्यटन, पर्यावरण र भौतिक पूर्वाधार लगायतका आधारहरु छन् । यस गाउँपालिकामा विकासका लहरहरु भित्राउनको लागि उचित विकासको खाका सहित आदारणीय जनसमुदायमाझ उपस्थित भएको छु ।
मैले घरपझोङ गाउँपालिकाको शिक्षित, सुन्दर, समृद्ध, सभ्य, सुसंकृत र स्वस्थ्य गाउँपालिका बनाउनको लागि ५ बर्षको लक्ष्य सहितको प्रस्ट कार्यक्रम ल्याउछु । जसमा गाउँपालिकाको बर्तमान अबस्था र सो कार्यक्रमको लागि आबश्यक श्रोत के कति हो र कसरी जुटाउने प्रस्ट खुलाउछु।
मैले गाउँपालिका भित्रका सम्पूर्ण वडालाई जोडने गरी चत्रपथको अवधारणा अनुरुप सडक संजालको विस्तार गर्ने लक्ष्य लिएको छु ।
गाउँपालिका भित्रका दलित, महिला, विपन्न वर्गको स्तरोन्नती गरी समाजको मुल धारमा ल्याउनको लागि विशेष कार्यक्रमहरु संचालन गर्नेछु । र एकघर एक रोजगारको सुनिश्चितता गर्नेछु ।
श्रोत पहिचान गरी आफ्नो गाउँपालिकाबाट श्रम बेच्न विदेश जानेहरुलाई स्वदेश फर्काएर ब्यबसाय गर्न वा रोजगारी गर्न दिने योजना बनाउने छु। गाउँपालिकालाइ आबश्यक पर्ने विज्ञ जनशक्ति आफ्नै गाउँपालिका भित्र तयार गर्ने योजना बनाउने छु।
आगामी ५ बर्षमा गाउँपालिका भित्र एकएक वटा सुबिधा सम्पन्न अस्पताल, कलेज, प्राबिधिक शिक्षालय, संचारको विकास, बसपार्क निर्माण, सार्वजनिक उद्यान आदि बनाउने छु । र गाउँपालिकावासीलाई १२ कक्षासम्म अनिवार्य शिक्षा लागू गर्ने योजना ल्याउनेछु । 
यस गाउँपालिका भित्र बिद्यमान भाषा संस्कृति, कला, साहित्यको पहिचान गरी सो को बिकासको लागि अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाउने छु ।
गाउँपालिकाको आफ्नै दमकल, एम्बुलेंस, शव वाहन, आदि ब्यबस्था गर्नेछु । खेलाडीको उत्पादन र खेलकुदको विकास गर्न विशेष कार्यक्रमहरु ल्याउनेछु ।  
आफ्नो गाउँपालिका भित्रको पर्यटकीय क्षेत्रको पहिचान गरी सो क्षेत्र बिकासको गुरुयोजना बनाई ५ बर्ष भित्र बढी भन्दा बढी पर्यटकको संख्या भित्राउने योजना बनाउने छु।
आफ्नो गाउँपालिका भित्र आगामी ५ वर्ष भित्र स्थापना गर्न सम्भब र आवश्यक उद्योगको सूचि तैयार गरी सो को लागि औद्योगिक इलाका बनाउनेछु ।
गाउँपालिकामा कृषि आधुनिकीकरण र पशुपालनलाई उच्च प्राथमिकता दिनेछु ।
गाउँपालिकालाई आबश्यक पर्ने खानेपानी, वन, बिद्युत, सडक, बिद्यालय, खेल मैदान, स्वास्थय सेवा, अन्न, फलफूल, माछा मासु, तरकारी, दूधको आबश्यकता आंकलन गरी सो कुरा आफ्नै गाउँपालिका भित्र उपलब्ध गराउने र गाउँपालिकालाई हरेक कुरामा आत्मनिर्भर बनाउने योजना ल्याउनेछु।
बिदेशमा रहेका गाउँपालिकावासीलाई गाउँपालिका भित्रका योजनामा लगानी गर्न प्रोत्साहित गर्ने र उनीहरुलाई लगानी गर्ने बाताबरण तयार गर्न नीति निर्माण गर्नेछु।
४. विभिन्न एजेण्डाका साथ चुनावमा होमिनु भा छ । जनताको प्रतिक्रिया कस्तो छ ?
जनताको सकरात्मक प्रतिक्रिया पाएको छु । जनताले चाहेको विकास र समृद्धि हो र हाम्रो एजेण्डा पनि समृद्धि नै हो । जनताले हाम्रो एजेण्डालाई स्वागत गर्नु भएको छ । नेकपा एमाले देश र जनताको पार्टी भएकाले यसमा आम जनसमुदायले मेरो उम्मेदवारीलाई सहर्ष स्वीकार्नु भएको छ । घरपझोङ गाउँपालिकाका जनताहरुले मेरो नेतृत्व चाहनुहुन्छ ।
५. घरपझोङमा त नेकपा एमाले, नेपाली कांग्रेस, स्वतन्त्रको चर्काे प्रतिस्पर्धा हुने देखिन्छ । कस्तो छ एमालेको अवस्था ?
देशमा विभिन्न कालखण्डमा नेकपा एमालेले नेतृत्व गर्दै आएको छ । एमालेले नेतृत्व गर्दै गर्दा जनताले चाहेको विकास र जनभावना अनुरुपको नीति निर्माण भएकै हो । जनताले हामीहरुलाई आफ्नै पार्टी र आफ्नै नेतृत्वको रुपमा स्वीकारेको अवस्था छ । विकासका लागि एमालेको नेतृत्व चाहिन्छ भन्ने भावना जनमानसमा छ । जनताको मनजित्न सफल एकमात्र पार्टी नेकपा एमाले हो र अवसर पाए एमालेले गर्न सक्छ र गर्छ पनि भन्ने सोँच सम्पूर्ण नेपालीमा छ । घरपझोङमा पनि जनता विकासका लागि एमाले र मेरो नेतृत्व चाहन्छ । त्यसैले हाम्रो जित सुनिश्चित छ ।
६. चुनाव जित्नु भो भने के गर्नु हुन्छ ? कसरी अगाडी बढनुहुन्छ ?
म बिज्ञहरुको स्थायी समूह राख्दछु। जसमा जनस्वास्थ्य, शिक्षा, अर्थशास्त्र, कृषि, बाताबरण, इतिहास, भूगोल, कला, सस्कृति, पर्यटन, राजनीति जस्ता बिषयमा राम्रो ज्ञान भएकाहरु पर्नेछन । यसरी विज्ञहरुको राय सल्लाह र सहयोगमा स्थानिय स्रोत साधनको पहिचान र परिचालन गरी गाउँपालिकामा रहेका हरेक पक्षलाई समेटेर विकासको मार्गचित्र संगै अगाडी बढ्दै जनभावना अनुरुप हाम्रा विकासका एजेण्डाहरुलाई कार्यान्वयन गर्दै जान्छु । जनतालाई विकासको प्रत्याभूति दिलाउने प्रतिवद्धता व्यक्त गर्छु । र आगामी ५ वर्षभित्र घरपझोङ गाउँपालिकालाई एउटा नमुना गाउँपालिकाको रुपमा विकास हुनेछ ।
७. अन्तमा मुस्ताङ साप्ताहिक मार्फत जनतालाई के भन्न चाहनुहुन्छ ?
हामीले पाएको अधिकारलाई संस्थागत गर्ने र संविधानको कार्यान्वयन गर्ने यो पहिलो चरण हो ।  संविधानले नेपाली जनतालाई आफ्नो सासन आँफै गर्ने सार्बभौमसत्ता सम्पन्न बनाएको छ । हालसम्म सिंहदरबारमा केन्द्रित कानून बनाउने अधिकार (विधायन) र कार्यान्वयन गर्ने अधिकार (कार्यकारिणी) जनता आँफैसँग आएको छ । नेपाली जनता सासन प्रकृयामा सहभागी भएको प्रत्यक्ष अनुभूती हुने पहिलो अबसर आसन्न स्थानीय तहको निवार्चन हो । यस निर्वाचनमा देश र जनताको लागि काम गर्ने पार्टी नेकपा एमाले र घरपझोङ गाउँपालिकाको समृद्धिका लागि अध्यक्षमा मेरो उम्मेदवारीलाई विजयी गराउँन कुनैपनि प्रलोभनमा नपरी सुर्य चिन्हमा मतदान गरिदिनुहुन आम मतदाता जनसमुदायलाई आग्रह गर्न चाहन्छु ।
धन्यवाद ।   

No comments:

Post a Comment