Friday, May 12, 2017

आर्थिक चलखेल हुनसक्ने भन्दै हेलिकप्टरको खानतलासी

केशव वि.क

मुस्ताङ, २९ बैशाख । चुनावको बेलामा आर्थिक चलखेल हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले मुस्ताङले शुक्रबार विहान हेलिकप्टरको खानतलासी गरेको छ । चुनाव नजिकिँदै गर्दा आर्थिक चलखेल हुने जनगुनासो बढेपछि खानतलासी गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले बताए । 

  नाइन एएलएस हेलिकप्टरमा शुक्रबार बिहान ७ः४५ बजे मुस्ताङ आएका तारा एयरका संचालक आङ छिरिङ शेर्पा र मुस्ताङका स्थानिय उत्तम गुरुङ सहितको टोली जोमसोम एयरपोर्टमा उत्रिएपछि आर्थिक चलखेल गर्ने आशंकामा प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा चेकजाँच गरिएको हो ।
चेकजाँचको क्रममा एयरपोर्टमा पुगेका नेकपा एमाले मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले चुनावको पेरीफेरीमा शंकास्पद रुपमा जिल्लाका विभिन्न स्थानको भ्रमण गर्दा आर्थिक चलखेल हुने भन्दै यस्ता गतिविधिलाई तत्काल बन्द गरी जनतालाई स्वतन्त्ररुपमा मतदान गर्ने वातावरण सृजना गर्नुपर्ने बताए ।   

शेर्पा हिजो बैशाख २८ गते मुस्ताङको कोवाङस्थित नाउरीकोटको थासाङ भिलेजमा हेलिकप्टर चार्टर गरी आएको र थासाङ भिलेजको ल्याण्डरोभर गाडी चढी लेते कालीपानी स्थित माननीय वाणीज्य मन्त्री रोमी गौचन थकालीको घरमा गई मन्त्रीसंग भेटघाट गरी फर्किएको संविधानसभा २०६८ का स्वतन्त्र उम्मेदवार प्रेमप्रसाद तुलाचनले बताए ।

त्यसपश्चात शेर्पा २९ गते हेलिकप्टर मार्फत उपल्लो मुस्ताङको भ्रमणमा आएका हुन् । चुनावको संघारमा माननीय वाणीज्य मन्त्री र शेर्पाको साँठगाँठले चुनावमा चलखेल हुनसक्ने विभिन्न राजनीतिक दल र स्थानियको ठम्याई छ । 

No comments:

Post a Comment