Monday, May 29, 2017

मुस्ताङमा गणतन्त्र दिवस मनाइयो

केशव बि.क.
मुस्ताङ, १५ जेष्ठ । मुलुकभर जस्तै मुस्ताङमा पनि विविध कार्यक्रम सहित १० औँ गणतन्त्र दिवस मनाईएको छ । गणतन्त्र दिवस २०७४ को अवसरमा मुस्ताङका विभिन्न ठाउँमा सरसफाई, हाजिरी जवाफ कार्यक्रम र दीप प्रज्वलन गरी मनाईएको हो ।
जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने मुल समारोह समितिको निर्णय अनुसार जोमसोममा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा स्थानीय तहका पदाधीकारी, कार्यालय प्रमुख, कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहभागीता रहेको थियो । त्यस्तै जिल्ला युवा समिति मुस्ताङका अध्यक्ष सम्राट गौचनको संयोजकत्वमा थासाङ गाउँपालिकाको लेते, कन्जो र घाँसामा सरसफाई तथा वृक्षारोपण गरिएको छ । 
१४ गते आईतबार देखि १६ गते मंगलबार सम्म घर, कार्यालय लगायतका ठाउँमा दिपावली गर्ने कार्यक्रम रहेको छ । सोमबार जोमसोममा प्रभातफेरी सहित मुल समारोहको आयोजना गरिएको छ । 
कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्काले जनताको बलिदानबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्न सबै एकढिक्का भएर लाग्नुपर्ने बताए । त्यस्तै स्थानिय विकास अधिकारी बन्धुप्रसाद बास्तोलाले नेपाल गणतन्त्र संस्थागत गर्ने चरणमा रहेकाले संघीय लोकतान्त्रीक गणतन्त्रको मर्म अनुसार अघि बढनुपर्ने बताए । 
घरपझोङ गाउँपालिकाका अध्यक्ष आसबहादुर थकालीले पहिलो चरणको स्थानिय तहको निर्वाचनले गणतन्त्र संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सबै मिलेर नेपाली जनताले हासिल गरेका उपलब्धीलाई जोगाई राख्न अग्रसर हुनुपर्ने बताए । 
कार्यक्रममा घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङ, नेकपा एमालेका प्रतिनीधि सम्झना थकाली, नेकपा माओवादी केन्द्रका विशाल विक, आधिकारीक ट्रेड युनियन (सिबिए) मुस्ताङका अध्यक्ष प्रेम केसी, नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा आयोजित हाजिरी जवाफ कार्यक्रममा प्रथम मुक्तिनाथ समुह, द्धितिय दामोदर कुण्ड समुह, तृतिय कालीगण्डकी समुह र सान्त्वना स्थान हासिल गरेको धौलागिरी समुहलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 
जिल्ला मुल समारोह समितिका संयोजक यवं स्थानिय विकास अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शोभा पुनले गरेकी थिईन् ।   
नेपालमा गणतन्त्र स्थापना भएको आज दश वर्ष लागेको छ । २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्रलाई अन्त्य गर्दै गणतन्त्र स्थापना भएको घोषणा गरेको थियो । 

No comments:

Post a Comment