Sunday, May 28, 2017

विकासमा मुस्ताङ सांस्कृतिक तथा शिक्षा केन्द्रको भूमिका उल्लेख्य

केशव वि.क
मुस्ताङ । मुस्ताङ सांस्कृतिक तथा शिक्षा केन्द्रले मुस्ताङको सांस्कृतिक तथा शैक्षिक विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको एक कार्यक्रमका सहभागिले बताएका छन् । शनिवार जोमसोममा सम्पन्न केन्द्रको पाचौँ वर्षिक साधारण सभा एवं एकिकृत बोन विद्यार्थी तथा अभिभावक भेलाका सहभागिले यस्तो बताएका हुन् । 
यस संस्था वि.सं. २०६९ सालमा स्थापना भई जिल्लाको विभिन्न ठाउँमा विकास निर्माण, संस्कृति संरक्षण र शैक्षिक विकासमा योगदान पु¥याउँदै आएको छ । संस्कृति संरक्षण, आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्यले स्थापित मुस्ताङ संस्कृति तथा शिक्षा केन्दले जोमसोममा वि.सं. २०७० को सुरुवात देखि हिमालयन चिल्ड्रेन होम नामक निशुल्क होस्टेल संचालनमा ल्याएको छ ।
बोन धर्ममा पिएचडी गरेका मुस्ताङ साँस्कृतिक तथा शिक्षा केन्द्रका अध्यक्ष गेशे सोनाम गुरुङले विभिन्न राष्ट्रबाट सहयोग जुटाई यस संस्था मार्फत समाज सुधार, शैक्षिक तथा साँस्कृतिक विकास र जिल्लाका विभिन्न क्षेत्रमा विकासका गतिविधि संचालन गर्दै आएका छन् । 
होस्टेलमा हाल ३८ जना छात्रछात्रा रहेका छन् । एकजना विद्यार्थीलाई वार्षिक करिब एकलाख खर्च लाग्ने गरेको संस्थाले जनाएको छ । प्रत्येक वर्ष छात्रवासमा ४ जना विद्यार्थी थप्दै जाने संस्थाको निति रहेको छ ।  
धौलागिरी आवासिय विद्यालयमा अध्ययन गर्ने ति छात्रछात्राहरुको विद्यालय शुल्क र हिमालयन होस्टेलमा खान, बस्न, लत्ताकपडा आदि व्यवस्था मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले नै गरेको संस्थाकी सचिव शर्मिला गुरुङले बताईन् ।
संस्कृतिको संरक्षणका लागि संस्थाले निकट भविष्यमा बोन गुम्बा र बालगृहको निर्माण गर्न लागेको छ । विदेशी सहयोग दाताहरुको सहयोगमा करिब ५० करोडको लागतमा सो गुम्बा निर्माण गर्न लागिएको हो । 
कार्यक्रममा बोल्दै घरपझोङ गाउँपालिकाका प्रमुख आसबहादुर थकालीले मुस्ताङ साँस्कृतिक तथा शिक्षा केन्द्रले जिल्लामा पु¥याएको योगदानको प्रशंसा गर्दै जिल्लाको सम्पूर्ण पक्षको विकासको लागि सबै सकृय रहनु पर्ने बताउँदै आफु सँधै विकासका लागि प्रतिवद्ध रहने बताए । 
कार्यक्रममा संस्थाका अध्यक्ष गेशे सोनाम गुरुङ, गेशे तेन्जिङ छोर्तेन, गेशे छिर्मि, गुम्बा निर्माण सहयोग समितिका अध्यक्ष शेर बहादुर गुरुङ, घरपझोङ गाउँपालिका २ का वडा अध्यक्ष मान बहादुर विक, सदस्य भुवनकुमारी शेरचन र एकिकृत बोन विद्यार्थीका अध्यक्ष योङडुङ छेवाङ गुरुङले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रम संस्थाका अध्यक्ष गेशे सोनाम गुरुङको अध्यक्षता र सचिव शर्मिला गुरुङको संचालनमा सम्पन्न भएको थियो ।   

No comments:

Post a Comment