Monday, September 19, 2016

मुस्ताङमा हर्षाेल्लासका साथ संविधान दिवस मनाईयो

मुस्ताङ साप्ताहिक/मुस्ताङ
६५ वर्षको लामो अथक प्रयास पछि संविधानसभा तथा जनप्रतिनीधिबाट गत २०७२ आश्विन ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज एक वर्ष पूरा भएको छ । संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा मुलक भर आज विशेष कार्यक्रमहरुको आयोजना गरी हर्षोल्लासका साथ संविधान दिवस मनाइएको छ ।
हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा पनि संविधान दिवस जिल्ला समारोह समिति मुस्ताङको आयोजनामा विहान प्रभात फेरी र विभिन्न कार्यक्रम सहित सोमबार संविधान दिवस भव्यरुपमा मनाइएको छ ।
सो अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद महेन्द्र शेरचनले नेपालको संविधान २०७२ हिमाल, पहाड र तराईका प्रतिनीधिले स्वीकार गरी पारित गरेको सर्वस्वीकार्य भएको बताउँदै कसैको स्वार्थको लागि संविधान संशोधन गर्न नहुने उल्लेख गरे । संविधान कार्यान्वयनको लागि प्रतिपक्षले कुनै बाधा अवरोध नगर्ने भन्दै सांसद शेरचनले संविधानलाई संस्थागत गर्न अब १६ महिनामा ३ वटा निर्वाचन गर्नुपर्ने बताए ।
त्यसैगरी जिल्ला न्यायाधीश पिताम्बर शर्माले संविधान देशको मुल कानून र राज्यको वडापत्र भएकाले संविधान कार्यान्वयनमा लाग्नुपर्ने बताउँदै संविधानले निर्दिष्ट गरेको संघीयताको पालना सर्वप्रथम न्यायक्षेत्रमा भएको बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले मुलुकको सर्वस्वीकार्य संविधानको पालनाका लागि सबै प्रतिवद्ध हुनुपर्ने बताए । उनले भने संविधान मुल कानून मात्र नभएर राज्य संचालनको सिद्धान्त र मापदण्द पनि हो ।
कार्यक्रममा स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोला, पूर्व सांसद चन्द्र बहादुर गुरुङ, नेकपा एमालेका सचिव देव गुरुङ, नेकपा माओवादी केन्द्रका विशाल विक, नागरिक समाजका चन्द्रबहादुर थकाली लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
संविधान दिवसलाई आश्विन २, ३ र ४ गते भब्यरुपमा मनाउने कार्यक्रम अनुरुप मैत्रीपूर्ण भलिबल प्रतियोगिता, कविता वाचन, हरेक दिन साँझ दिपावली र भोली ब्याडमिन्टन प्रतियोगिता संचालन गरिने बताईएको छ ।
सो अवसरमा मैत्रीपूर्ण भलिबल खेलका बिजेता समुह प्रथम, द्धितिय र तृतिय क्रमशः नेपाली सेना, जनहित युवा क्लब र कर्मचारी क्लव लगायतका सहभागि समुह नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनकल्याण युवा क्लवका खेलाडीलाई प्रमाणपत्र द्धारा सम्मान गरिएको थियो । कार्यक्रम स्थाविअ बास्तोलाको अध्यक्षता र जीवन ज्ञवालीले संचालनमा सम्पन्न भएको थियो । संविधानमा ३५ भाग ३०८ धारा र नौ अनुसूची छन् । संविधानमा विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव प्रवद्र्धन गर्दै सबै प्रकारका विभेद अन्त्य गरी समानतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ ।
संविधानमार्फत नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, समावेशी, लोकतन्त्र, समाजवाद उन्मुख, सङ्घीय धर्मनिरपेक्ष, लोकतान्त्रिक गणराज्य घोषणा गरिएको हो । नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिइएको छ ।
संवैधानिक व्यवस्थाअनुसार आगामी २०७४ साल माघ ७ गतेसम्म स्थानीय, प्रदेश र सङ्घको निर्वाचन सम्पन्न गरी संविधानलाई पूर्ण कार्यान्वयनको दिशातर्फ अग्रसर तुल्याउनु अहिलेको प्रमुख कार्यभार हो । संविधानलाई पूर्ण कार्यान्वयनतर्फ लैजान आवश्यक पर्ने नयाँ कानुनको निर्माण र पूराना कानुनको संशोधन गर्न दलहरु एउटै कित्तामा उभिनुपर्ने आवश्यकता छ ।  

No comments:

Post a Comment