Sunday, September 18, 2016

मुस्ताङका होटल बाल श्रम मुक्त बन्दै

केशव बि.क.
मुस्ताङ २ आश्विन

सरोकारवालाको पहलमा अधिकांश बाल श्रमिकहरु रहेका मुस्ताङमा संचालित होटलका संचालनकहरु धमाधम बाल श्रम मुक्त होटल बनाउने प्रक्रियामा लागेका छन् । यहाँका होटलहरु बाल श्रम मुक्त घोषणा हुने क्रम जारी रहेको छ ।  
 महिला तथा बालबालिका कार्यालय मुस्ताङको पहलमा बालबालिकाको हक अधिकारको विषयमा जनचेतना फैलाउन थालेपछि मुस्ताङका होटल व्यवसायीले आफ्नो होटललाई बालश्रम मुक्त होटल बनाउन थालेका हुन ।
    हालसम्म जिल्लामा ३४ वटा होटल बालश्रम मुक्त भैसकेको महिला तथा बालबालिका कार्यालयकी प्रमुख सावित्रा शाहले जानकारी दिईन् । व्यवसायीले अव देखि बालश्रमिक प्रयोग नगर्ने भन्दै केही व्यवसायीले आफै आफ्नो होटलमा बालश्रम होटल मुक्त भएको स्टिकर टाँसिदिन अग्रह गरेका छन् । हामीले अन्य व्यवसायलाई पनि बालश्रम मुक्त गरी जिल्लालाई नै बाल श्रम मुक्त जिल्ला घोषणा गर्ने प्रक्रियामा छौँ । शाहले भनिन ।  
बालबालिकाको हकहितको लागि सबैमा जानकारी गराएको र बालश्रमिक राखेका व्यवसायीलाई बालश्रम शोषण नगर्न आग्रह गरेपछि उनीहरुले स्वस्फुर्त आफ्नो होटल तथा व्यवसायमा वर्तमान र भविष्यमा बालश्रमिक प्रयोग नगर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेपछि त्यस्ता होटलमा बालश्रम मुक्त स्टिकर टाँसेको महिला विकास अधिकृत शाहले बताइन् ।
मुस्ताङका होटल व्यवसाय तथा कृषि, पशुपालन व्यवसायमा अत्याधिक रुपमा बालश्रमिहरुको प्रयोग हुँदै आईरहेको छ । कुनैपनि व्यवसायमा बाल बालिकाको प्रयोग गर्न नपाईने भन्दै महिला तथा बालबालिका कार्यालयले जिल्लाका १६ वटै गाविसमा सुचना टाँसेको छ । र त्यसलाई निगरानी गर्ने कार्यालयले जनाएको छ ।
१४ वर्ष मुनिका बालबालिकाहरुलाई कुनैपनि काममा लगाउन नपाइने र १४–१६ वर्षका बालबालिकालाई जोखिमयुक्त काममा लगाउन नपाइने भन्दै महिला विकास अधिकृत शाहले होटल, घर तथा कृषि, पशुपालन व्यवसायमा प्रयोग गरिएका बालबालिकालाई उद्दार गर्न लागिपरिरहेकोे बताईन् ।
उनका अनुसार हालसम्म केही बालबालिकालाई बालश्रम मुक्त गरी शिक्षाको दायरामा ल्याइएको र ४ जना बालबालिकालाई श्रम मुक्त गरी मुस्ताङबाट फिर्ता पठाइएको छ ।
केही व्यक्तिले कानुनी प्रक्रिया पुरा नगरी बालबालिकालाई छोराछोरी बनाएर पालेको र श्रममा लगाएको पाइएकाले त्यस्ता व्यक्तिलाई कानुनी प्रक्रिया पुरा गरी महिला तथा बालबालिका कार्यालयले संरक्षक तोकेपछि मात्र आधिकारीक हुने कार्यालयको भनाई छ । 
मुस्ताङमा अधिकांश बागलुङ, पर्वत, म्याग्दी, कास्की, तनहुँ, रुकुम र रोल्पाका बालश्रमिकहरु छन् । उनीहरु केही बावुआमा संग आई काम गर्ने गरेको, केही व्यापारी मार्फत र केहीलाई बाटोमा भेटेर अनौपचारिक रुपमा पनि ल्याउने गरेको बताइएको छ ।
मुस्ताङमा धर्मको नाममा बालबालिकालाई औपचारिक शिक्षाबाट बञ्चित गरी गुम्बामा लामा झुमा बनाउने प्रथा रहेकाले सो प्रथा बाल अधिकार विपरित भएको बाल अधिकारकर्मीहरुले बताएका छन् । उनीहरुले धर्मको नाममा बालबालिकालाई लामा, झुमा नबनाउन सम्बन्धीत सबैलाई आग्रह गरेका छन् ।

No comments:

Post a Comment