Saturday, September 24, 2016

थाक खेलकुद तथा च्याम्पियनशिप रनिङ शिल्ड शुरु

    मुस्ताङ साप्ताहिक/मुस्ताङ
४६ औँ थाक खेलकुद च्याम्पियनशिप तथा रनिङ शिल्ड प्रतियोगिता बुधावार देखि कोवाङमा शुरु भएको छ । धौलागिरी युवा क्लवको आयोजनामा प्रतियोगिता शुरु भएको हो । कार्यक्रम आश्विन ८ गते सम्म संचालन हुने अयोजकले जनाएको छ ।     पानसमा दिप प्रज्वोलन गरी कार्यक्रमको उदघाटन गर्दै वाणिज्य मन्त्री रोमी गौचनले अग्रजले थमाएको जिम्मेवारी नयाँ पुस्ताले थाक खेलकुदको पहिचानलाई कायम राख्दै राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीहरुको विकास गर्न शुभकामना दिए ।
    सोही अवसरमा बोल्दै मन्त्री गौचनले २ लेनको ग्राबेल जोमसोम कोरला नाकाको बाटोको लागि सरकारले बजेट छुट्याएको र सो बाटोमा कस्तो प्रकारको सवारी साधन चलाउने सही अनुरुप पिच हुने बताउँदै २ वर्ष भित्रमा जोमसोम–कोरला सडकको स्तरोन्नती गर्ने कार्य सम्पन्न हुने जिकिर गरे । साथै उनले बेनी जोमसोम सडकको स्तरोन्नतीका लागि पनि छिट्टै टेण्डरको प्रक्रिमा रहेको जानकारी दिए । उत्तरी चीनसंगको कोरला नाका खोल्ने सम्बन्धमा औपचारिक अनौपचारिक बैठक भैरहेकाले चीनले राखेका सरोकारका विषयमा विश्वष्त पार्न सकेमा नाका खोल्न कुनैपनि समस्या नहुने र नाका छिट्टै खोलिने मन्त्री गौचनको भनाई थियो ।
    त्यसैगरी साँसद महेन्द्र शेरचनले मुस्ताङीको कलासंस्कृति झल्काउने मुस्ताङको पहिचानलाई जोगाई राख्न सबै लाग्नुपर्ने भन्दै थाक खेलकुद तथा सांस्कृतिक विकास संघले मुस्ताङको खेलकुद विकासमा पु¥याएको योगदानको प्रशंसा गरे ।
    कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले खेलमा शारिरीक क्षमता, अनुशासन र बौद्धिकताको आवश्यकता पर्ने भएकाले खेलाडीले यि कुरालाई ध्यान दिँदै आफ्नो खेल प्रदर्शन गर्न आग्रह गरे । त्यस्तै कार्यक्रमका अध्यक्ष प्रेमप्रसाद तुलाचनले मुस्ताङको खेलकुद तथा साँस्कृतिक विकासका लागि थाक खेलकुदको अयोजना गर्दै आएको बताउँदै मुस्ताङको विकास र पर्यटन प्रवद्र्धन तथा कलासँस्कृति संरक्षणमा सदैव आफु प्रतिवद्ध रहेको बताए ।
    सो अवसरमा मुस्ताङको खेलकुद विकासमा पु¥याएको योगदानको उच्च मुल्याङकन गर्दै जयन्द्रलाल थकाली र इन्द्रधारा विष्टलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रम संचालनका लागि आर्थिक सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघ संस्थालाई सम्मान गरिएको थियो ।
    कार्यक्रमको उद्घाटन समारोह थाक खेलकुद तथा साँस्कृतिक विकास संघका अध्यक्ष प्रेम प्रसाद तुलाचनको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष गणेश शेरचनको स्वागत र सचिव गिरीसिंह शेरचनको संचालनमा सम्पन्न भएको थियो ।
    सो अवसरमा पुरुष भलिवल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, मिस मुस्ताङ चयन, राष्ट्रिय तथा स्थानिय कलाकारद्धारा वेजोड सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको अध्यक्ष तुलाचनले जानकारी दिए ।    




No comments:

Post a Comment