Sunday, September 18, 2016

धौलागिरी बोर्डिङको २४ औँ वार्षिकोत्सव सम्पन्न

मुस्ताङ साप्ताहिक÷मुस्ताङ
धौलागिरी आवासिय मावि जोमसोमले भाद्र ३१ गते शुक्रबार एक समारोहको आयोजना गरी २४ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले हरेक वर्ष वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने कार्यक्रम अन्तरगत उक्त कार्यक्रमको अयोजना गरिएको हो ।
सो अभिभावक दिवसलाई सम्बोधन गर्दै व्यवस्थापिका सांसद महेन्द्र शेरचनले मुस्ताङ जस्तो दुर्गम हिमाली जिल्लामा यहाँका शिक्षाप्रेमी स्थानियको अग्रसरतामा गुणस्तरीय अंग्रेजी माध्यमको शिक्षा दिने उद्देश्य अनुरुप विद्यालयको स्थापना गरी अगाडी बढाउनु उदाहरणीय कार्य भएको बताए ।
    कार्यक्रमको उद्घाटन गर्दै माननीय जिल्ला न्यायधीश पिताम्बर शर्माले पवित्र भावनाका साथ जिल्लामा अंग्रेजी माध्यमबाट शिक्षा प्रदान गर्न लागि परिरहेको यस विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष शैक्षिक जनशक्ति उत्पादन गर्न तर्फ लाग्न शुभकामना दिए ।
त्यसैगरी विद्यालयका प्रिन्सिपल चन्द्रबहादुर गुरुङले जिल्लाका विद्यार्थीहरुलाई अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा दिने उद्देश्यले विद्यालय संचालन गरिएको बताए । साथै उनले सो विद्यालयबाट ०५९÷०६० देखि एसएलसि दिन सुरु गरी हालसम्म २०६ जनाले एसएलसि उत्तीर्ण गरिसकेको भन्दै आगामी दिनमा गुणस्तरीय शिक्षा सहित प्लस टु कक्षा संचालन गर्न विद्यालय लागि पर्ने बताए । हाल विद्यालयलाई जग्गा विवाद सम्बन्धी समस्या आएतापनि प्रकृयागत ढंगले समस्या समाधान गर्न आफु अग्रसर भएकाले विद्यार्थी, अभिभावक तथा सम्बन्धीत सबैमा बिचलित नहुन आग्रह गरे ।
कार्यक्रममा हरेक वर्ष जुनियर रेडक्रस सर्कलको बार्षिक कार्यक्रम अन्तर्गत नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई जुनियर रेडक्रस सर्कल छात्रवृत्ति वितरण गरिएको थियो । त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय जोमसोमद्धारा कक्षा ६, ७ र ८ का विद्यार्थीहरुलाई संरक्षण शिक्षा पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको थियो ।
विद्यालयले आफ्नो वार्षिक कार्यक्रममा विजेता विद्यार्थीहरुलाई विद्यालयका विभिन्न विद्या अतिरिक्त क्रियाकलाप, व्यक्तिगत मुल्याङकनमा छनोट भएका लगायतका विद्यार्थीहरु लाई पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गतवर्ष विद्यालयबाट सहभागि भई विजयी विद्यार्थीहरुलाई कदरपत्र र पुरस्कार प्रदान गरिएको थियो ।
विद्यालयले यसवर्षको उत्कृष्ट शिक्षक छनोटगरी सम्मान गर्ने कार्यक्रम अन्तर्गत शिक्षक अदित चन्द्र थकालीलाई सम्मान गरिएको थियो । कार्यक्रममा जनहित क्याम्पसका प्राचार्य रामचन्द्र अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष भिसन थकाली, विद्यार्थीहरुको तर्फबाट करचुङ गुरुङ लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
विद्यालय संचालक समितिका अध्यक्ष चन्द्रबहादुर थकालीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सहायक प्रिन्सिपल अनिरुद्र गौतम र संचालन शिक्षिका सृष्टि चौधरीले गरेकी थिइन् ।       

No comments:

Post a Comment