Tuesday, September 27, 2016

यस वर्ष स्याउ उत्पादनमा ७ प्रतिशतले कमि

केशव बि.क.
मुस्ताङ ११ आश्विन

स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष स्याउ उत्पादनमा कमि आएको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउको उत्पादन ७ प्रतिशतले घटेको हो ।  
   गत वर्ष मुस्ताङमा चारहजार आठसय मेट्रिक टन स्याउ उत्पादन भएकोमा यस वर्ष चारहजार चारसय मेट्रिक टन मात्र स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका कृषि योजना अधिकृत तप्त बहादुर गुरुङले जानकारी दिए । 
लामो समयसम्म खडेरी पर्नु, गत हिउँदमा कम हिउ परेको, जिजिनामथ किराको आक्रमण, स्याउको फूल फूल्ने बेला तुसारो पर्नाले फूलपात नष्ट हुँदा स्याउको उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्लामा एकहजार पैँचालिस हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएतापनि तीनसय पचास हेक्टर क्षेत्रफलमा लगाएको बोटबाट मात्र स्याउ उत्पादन हुने गरेको छ । प्रत्येक वर्ष एकसय देखि एकसय दश हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार हुने गरेको वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले जानकारी दिईन् ।
मुस्ताङका १६ गाविस मध्ये टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ र घमी गाविसमा स्याउ उत्पादन हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार मुस्ताङमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड, फुजी, न्यूरोयल, मुत्सु, अ‍ैकिन, बिनौनी, साउने, राइमर, अम्री, रेड गोल्ड, ब्रामे र चकलेट लगायतका प्रजातिका स्याउ उत्पादन हुने गर्दछन् । 
मुस्ताङको स्याउ सबैभन्दा उत्कृष्ट मानिने हुँदा बजारको खासै समस्या नभएको स्थानिय बताउँछन् । स्याउ पाक्नु भन्दा केही समय अगाडीनै ठेकेदारहरु कृषकको घरमै पुगेर स्याउको बगैचा किन्ने र बैँधोपट्टा गर्ने गर्दछन् । यातयातको सहज पँहुच संगै स्याउको राम्रो मुल्य पाउन थालेपछि यहाँका कृषकको स्याउ खेती तर्फ आकर्षण बढ्दो छ । हाल कृषकले बोटबाटै प्रति केजी ८० देखि १०० रुपैयाँमा स्याउ बिक्री गरेका छन् ।
यहाँका कृषकले स्याउबाट प्रति वर्ष एकलाख देखि एक करोड सम्म आम्दानी गर्ने गरेका छन् । विगतका वर्षमा ठेकेदारहरुले काँचो स्याउ टिपेर बजारमा पु¥याउने गरिएतापनि यस वर्ष वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा स्याउ ढुवानीमा समस्या देखिएपछि स्याउ बोटमै पाक्न पाएको छ ।
काँचो स्याउ बजारमा पु¥याउँदा स्वादिलो नहुँने हुँदा स्याउ पूर्ण रुपमा पाकिसकेपछि मात्र टिप्न सल्लाह दिएको कृषि विकास कार्यालयको भनाई छ । जिल्लामा अहिले स्याउ टिप्ने र ढुवानी गर्ने लहर चलिरहेको छ । हालसम्म ४० प्रतिशत स्याउ टिपाई भैसकेको कृषि विकास कार्यालयका गुरुङले बताए ।
जिल्लामा स्याउखेतीको विकास र विस्तार गर्न कृषकलाई प्राविधिक तालिम, सिचाँईको व्यवस्था र ५० प्रतिशत अनुदानमा विरुवा वितरण गर्दै आएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । 

No comments:

Post a Comment