Thursday, September 15, 2016

उपल्लो मुस्ताङका स्थानियले लोमान्थाङबाटै नागरिकता पाउने

केशब बि.क.
मुस्ताङ ३० भाद्र
जिल्लाको उपल्लो मुस्ताङका ६ गाविसका सर्वसाधारणले अब लोमान्थाङबाटै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी पाउने भएका छन् । भाद्र २९ गते बुधवार ईलाका प्रशासन कार्यालय लोमान्थाङको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीद्धारा विधिवत रुपमा उद्घाटन भएपछि स्थानियले गाउँ तहमै उक्त सुविधा पाउने भएका हुन ।  घमी, चराङ, लोमान्थाङ, छोसेर, छोन्हुप र सुर्खाङ गाविसका सर्वसाधारणको  समस्यालाई मध्यनजर गर्दै लोमानथाङमा इलाका प्रशासन कार्यालय सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए । सरकारले लोमान्थाङमा इलाका प्रशासन कार्यालय स्थापना गरेपछि हप्तादिन लगाएर सदरमुकाम जोमसोम आउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
यसअघि लोमान्थाङमा सीमा प्रशासन कार्यालय मार्फत उपल्लो मुस्ताङवासीका दैनिक समस्या समाधान गर्ने प्रयास गरिए पनि सो कार्यालय गत माघमा खारेज भएपछि स्थानियलाई थप प्रभावकारी सेवा उपलब्ध गराउन इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो । सीमा प्रशासन कार्यालयमा जनशक्ति कम र अधिकार पनि कम हुने भएकाले त्यसबाट स्थानीयको आवश्यकता पूरा गर्न नसकेपछि त्यसलाई हटाइएको थियो ।
इलाका प्रशासन कार्यालय संचालनमा आउँदा दुर्गम क्षेत्रका सर्वसाधारणलाई एउटा सिफारिसका लागि हप्ता दिन लगाएर सदरमुकाम जोमसोम आउनुपर्ने बाध्यता सदाका लागि अन्त्य भएको छ । प्रजिअ अधिकारीले भने । साउन महिनाको अन्तिम हप्तासम्म इलाका प्रशासन कार्यालय संचालनमा ल्याउने भनिएतापनि भौतिक पूर्वाधारका कारण एक महिना ढिलो गरि कार्यालय संलाचनमा ल्याईएको हो । कार्यालय लोमान्थाङमा रहेको आरसियुपिको भवनमा संचालन गरिएको छ ।
यसले २ हजार ७२ वर्ग किमि क्षेत्रफल रहेको उपल्लो मुस्ताङका ६ गाविसका करिब ३ हजार ३ सय जनसंख्या लाभान्वित भएका छन । कार्यालयको उदघाटनको दिनमा छोन्हुप गाविस वडा नं. ६ का याङडोन गुरुङलाई नागरिकता वितरण गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख जितेन्द्र बलामीले जानकारी दिए । 
इलाका प्रशासन कार्यालयमा शाखा अधिकृतको नेतृत्वमा दुईजना नायव सुब्बा, एकजना सहलेखापाल, एकजना कम्प्युटर अपरेटर, एकजना खरिदार र  एकजना कार्यालय सहयोगीको दरबन्दी स्वीकृत भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । हाल ३ जना कर्मचारीले कार्यालयको कामकाज सुचारु गरेको र बाँकी कर्मचारीको पदपूर्तिका लागि लोकसेवा आयोगमा पत्रचार गरेको शाखा अधिकृत बलामीले बताए । 
कार्यालयका लागि टेलिफोन, विद्युतजस्ता अति आवश्यकीय वस्तुको व्यवस्थापन पछि सेवा प्रवाह सुरु गरिएको छ । इन्टरनेट, फ्याक्स जस्ता पूर्वाधारको व्यवस्थापनका लागि पहल भईरहेको बताईएको छ ।  
सो क्षेत्रको सुरक्षाका लागि नेपाल प्रहरीको टोली पनि सँगै रहेको छ । जोमसोम देखि ८४ किलोमिटरको दूरीमा पर्ने लोमान्थाङमा इलाका प्रशासन कार्यालय सञ्चालमा आएपछि स्थानीयले नागरिकता, राहदानी, सार्वजनिक मुद्दा मामिला जस्ता सरकारी सेवा सुविधा गाउँ तहमै पाएका छन् । निकट भविष्यमै सो स्थानमा फोटोसहितको मतदाना नामावली दर्ता, बैँकिङ सेवा लगायतका सुविधा उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।



No comments:

Post a Comment