Friday, September 16, 2016

पूर्व योजना तर्जुमा गोष्ठी सम्पन्न

    मुस्ताङ साप्ताहिक/मुस्ताङ
जिल्ला विकास समिति मुस्ताङको आयोजनामा शुक्रबार जिविस सभाहल जोमसोममा पूर्व योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
 गोष्ठीमा आर्थिक वर्ष ०७४÷७५ को लागि जिल्ला विकास योजना तर्जुमा गरिएको हो ।    सहभागितात्मक योजना तर्जुमा प्रक्रियाबारे जानकारी गराउने, जिल्लाको वस्तुस्थिति र विकास अवस्थाबारे छलफल गर्ने, नेपाल सरकारबाट प्राप्त बजेट सिलिङ तथा मार्गनिर्देशनबारे जानकारी गराउने र छलफल गर्ने, गाविस तथा नगरपालिकाका विषयगत निकाय, गैससहरुको भूमिकाबारे छलफल गर्ने, प्राथमिक निर्धारण गर्ने आधार, सामाग्री तथा तरिकाबारे जानकारी र इलाकास्तरीय योजना तर्जुमा बैठकहरु आयोजना गर्ने समय तथा स्थान निर्धारण गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको जिविसका योजना तथा प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिए ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद महेन्द्र शेरचनले योजनालाई कागजमा मात्र सिमित राख्न नहुने र बनाएका योजना समयमै सम्पन्न गर्नुपर्ने बताउँदै विकासका योजनाहरुलाई प्राथमिकताका साथ अगाडी बढाउन आग्रह गरे । दिगो विकासको योजना ल्याउन सकेमा बजेटको लागि समस्या नहुँने भन्दै सांसद शेरचनले मुस्ताङको विकासको लागि केन्द्रतहबाट जस्तोसुकै सहयोग गर्न आफु प्रतिवद्ध रहेको बताए ।
    कार्यक्रममा स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोला, नेपाली काँग्रेसका न्हुर्वु गुरुङ, एमालेका रमेश भट्टचन, नेकपा माओवादी केन्द्रका विशाल विक, राप्रपा नेपालका प्रविन शेरचन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    स्थाविअ बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको बारेमा जानकारी योजना तथा प्रशासकीय अधिकृत ज्ञवालीले गराएका थिए । कार्यक्रम जिविसका कार्यक्रम अधिकृत केदारसिंह थापाको संचालनमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment