Friday, September 9, 2016

मार्फामा फालो

केशव विश्वकर्मा
मुस्ताङ २४ भाद्र
थाक पाँच गाउँका स्थानियले परम्परागत रुपमा मनाउँदै आएको ऐतिहासिक फालो पर्व शुक्रवार देखि मार्फा गाउँमा सुरु भएको छ ।हिमालपारीको जिल्ला मुस्ताङको पाँच गाउँका स्थानीयले राजा थोकर्चेनको र राजा कुनारेको पालादेखि मनाउँदै आएको फालो पर्वलाई निरन्तरता दिएका छन् । ऐतिहासिक फालो पर्वमा स्थानियले परम्परागत याक नृत्य, विभिन्न झाँकी, आर्चरी प्रतियोगिता, हाँस्य व्यग्यका साथै थकाली साँस्कृतिक भेषभूषा पहिरन गरी विविध साँस्कृतिक कार्यक्रम सहित मनाउने गर्दछन् ।
थाक– ठिनी, स्याङ, मार्फा, छैरो र चिमाङ गाउँको मौलिक कलासंस्कृतिको संरक्षण र परम्परालाई जोगाउनको लागि थाक पाँच गाउँ उद्धार समितिको ४० औँ वार्षिकोत्सव समारोह २०७३ को अवसरमा विशेष कार्यक्रम सहित फालो पर्व मनाउन लागिएको आयोजक थाक पाँच गाउँ उद्धार समितिका अध्यक्ष ईश्वरलाल हिराचन जानकारी दिए ।
राजा थोकर्चेन र राजा कुनारेको माइती कुटुम्बको सम्बन्ध रही आएको र थाक पाँच गाउँका ति राजाहरुले पाँच गाउलाई एउटै सुत्रमा बाँध्नका लागि फालो पर्व मनाउने प्रचलनको शुरु गरेको र यसलाई निरन्तरता दिँदै आएको स्थानियहरु बताउँछन् ।
फालो पर्व भाद्र २४, २५ र २६ गते गरी तिन दिन सम्म मनाईने बताईएको छ । फाला पर्व अवलोकनका लागि जोमसोम, ठिनी, स्याङ, मार्फा ,चिमाङ, छैरो ,स्याङ र टुकुचे लगायतका स्थानीयहरु मार्फामा आउने गर्दछन् ।
थाक पाँच गाउँ उद्धार समितिको ४० औँ वार्षिकोत्सवको अवसरमा समितिको नयाँ नेतृत्वको चयनका साथै पाँच गाउँको विच भागमा वृक्षारोपण गरिने फलेन्द्र थकालीले जानकारी दिए ।
थाक पाँच गाउँ उदुधार समितिले प्राकृति तथा धार्मिक साँस्कृतिक सम्पदालाई जोगाउन विशेष भूमिका खेलेको र समाजमा भएका विकृति विसंगतिलाई हटाउदैँ थाक पाँच गाउँमा आईपर्ने जुनसुकै समस्याको सबै मिलेर सामना गर्ने कार्य गरिरहेको बताइएको छ ।





No comments:

Post a Comment