Wednesday, September 28, 2016

मुस्ताङमा भेडाच्याङग्राको किनबेच शुरु

केशव बि.क.
मुस्ताङ, १२ आश्विन

चाडपर्व नजिकिँदै गर्दा च्याङग्रा खरिद बिक्रीको चहलपहल सुरु भएको छ ।  नेपालीहरुको महान पर्व दशैँतिहारलाई लक्षित गरेर हिमालपारीको जिल्ला मुस्ताङमा भेडाच्याङ्ग्रा किनबेच सुरु भएको हो । मुस्ताङकै स्थानिय व्यापारी र बाहिरी जिल्लाका व्यापारीहरुले भेडाच्याङ्ग्रा खरिद बिक्रि गर्न सुरु गरेका छन् ।
च्याङग्रा व्यापारीहरुले किसानको गोठमा पुगेर भेडाच्याङग्रा खरिद गरिरहेका छन् । रामेछापका उद्धव खडका र रसुवाका रामप्रसाद न्यौपानेले दशैँमा बिक्री गर्नको लागि ४ सय भेडाच्याङग्रा खरिद गरेका छन् । दशैँमा मासुको अत्याधिक माग हुने भएकाले बजारमा बेच्नको लागि उनीहरुले मुस्ताङमा आएर  भेडाच्याङग्रा खरिद गरी देशका विभिन्न ठाउँमा लगेर बिक्रि गर्नेे तयारी गरेको बताए । ‘हामी २ जनाले करिब ८० लाख बराबरका च्याङग्रा किनेका छौँ,’ उनले भने, ‘अब यसलाई विभिन्न ठाउँमा लगेर बिक्री गर्छाै ।’
त्यस्तै रसुवाका व्यापारी दिवाकर न्यौपाने पनि भेडाच्याङग्रा खरिदका लागि मुस्ताङ आएका छन् । न्यौपाने सहित तीन जनाको समुह मुस्ताङ आएको हो । ‘किसानको घर—घरमा पुगेर खरिद गरिरहेका छौँ,’ न्यौपानेले भने, ‘चार सय संकलन गरेर लैजान्छौँ ।’ उनीहरुले सडकबाट हिँडाएर भेडाच्याङग्रा बिक्री गर्दै जाने बताए । दशैँतिहारमा अत्याधिक माग हुने मुस्ताङमा पालेका भेडाच्यङग्रा किनबेचको सिजन सुरु भए पछि किसान पनि बेच्न उत्साहित छन् ।
मुस्ताङमा यस वर्ष करिब २५ हजार भेडाच्याङग्रा बिक्री गर्नको लागि तयारी अवस्था रहेको जिल्ला पशु सेवा कार्यालय मुस्ताङले जनाएको छ । किसानले प्रतिगोटा १९ देखि २१ हजार रुपैयाँमा बिक्री गरेका छन् । चार वर्ष उमेर पुगेर बेच्ने अवस्थामा करिब २५ हजार भेडाच्याङग्रा रहेको पशु कार्यालय मुस्ताङका प्रमुख डा.नन्दलाल बर्माले बताए । ‘दशैँलाई लक्षित गरेर भेडाच्याङग्रा किनबेच सुरु भएको छ,’ बर्माले भने, ‘२५ हजार मुस्ताङबाट निर्यात हुने अनुमान गरिएको छ ।’
जिल्लामा ४१२ किसानले ब्यवसायिक रुपमा भेडाच्याङग्रा पाल्ने गरेका छन् । मुस्ताङको १६ गाविस मध्ये मार्फा, जोमसोम, कागवेनी, झोङ, मुक्तिनाथ, छुसाङ, सुर्खाङ, चराङ, लोमान्थाङ, छोसेर, छोन्हुप गाविसका किसानले च्याङग्रा पाल्दै आएका छन् । मुस्ताङमा उत्पादित भेडाच्याङग्राले बजारको माग थेग्न नसक्ने भएपछि चाडपर्वलाई लक्षित गरेर व्यापारीले तिब्बतबाट समेत भेडाच्याङग्रा ल्याउने गरेका छन् । उपल्लो मुस्ताङका घमी, लोमान्थाङ, चराङ, सुर्खाङ, छोसेर र छोन्हुपका व्यापारीले तिब्बतका भेडाच्यांग्रा ल्याएर स्थानिय भेडाच्याङग्रामा मिसाएर बेच्छन् । यस वर्ष गत भाद्रमा संचालित अन्तरदेशीय व्यापारमेलाबाट यहाँका व्यापारिले करिब १० हजार च्याङग्रा खरिद गरेका छन् । लोमान्थाङका स्थानिय समाजसेवी इन्द्रधारा विष्टले बताए ।
बजारमा हिमाली उच्च चरन क्षेत्रका भेडाच्यांग्राको माग हुने भएकोले मुस्ताङीले तिब्बतबाट ल्याएका भेडाच्याङग्रा मिसाएर बेच्ने गर्छन् । यहाँका भेडाच्याङग्राको मासु स्वादिलो हुने गरेकाले पनि मासु पारखीको रोजाईमा पर्ने गरेको छ ।
मुस्ताङबाट गत वर्ष १९ हजार भेडाच्याङग्रा निर्यात भएको जिल्ला पशु सेवा कार्यालय, मुस्ताङले जनाएको छ । मुस्ताङका किसानले गत वर्ष १९ हजार भेडाच्याङग्रा बेचेर करिब ३६ करोड कमाएका थिए । किसानले भेडाच्याङग्राबाट मनग्य आम्दानी गर्ने गरेका छन् । हाल जिल्लाभरमा ७० हजारको हाराहारीमा भेडाच्याङग्रा रहेको डा. नन्दलाल बर्माले बताए ।
 मुस्ताङबाट भेडाच्याङग्रा खरिद गरी व्यापारीले बिक्रीको लागि बागलुङ, पर्वत, पोखरा, काठमाण्डौ लगायतका ठाउँमा लैजान्छन् । केही किसानले आँफै म्याग्दी, बागलुङ, पर्वत, पोखराका बजारमा लगेर बेच्ने गरेका छन् ।
कार्यालयको सम्पर्कमा आएका किसानको भेडाच्याङग्रा निकासी हुँदा अनिवार्य स्वास्थ्य जाँच गरेर पठाउने गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
त्यसैगरी नेपाल खाद्य संस्थानले करिब एकहजार पाँचसय भेडाच्याङग्रा काठमाण्डौ लैजाने भएको छ । संस्थानले भेडाच्याङग्राको व्यवस्था गर्नको लागि जिल्ला पशु सेवा कार्यालय, मुस्ताङलाई पत्राचार गरेको छ । र केही च्याङग्राहरु पठाईसकेको बताईएको छ ।

No comments:

Post a Comment