Tuesday, September 13, 2016

मुक्तिनाथ विकास समितिको आयब्यय सार्वजनिक

मुस्ताङ साप्ताहिक
मुस्ताङ २८ भाद्र
मुक्तिनाथ विकास समिति मुस्ताङले आर्थिक वर्ष २०७२ र ०७३ को आय ब्यय सार्वजनिक गरेको छ । भाद्र २७ गते मुक्तिनाथ विकास समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीको अध्यक्षतामा बसेको मुक्तिनाथ विकास समितिको बैठकले आयब्यय सार्वजनिक गरेको हो ।    आ.व. ०७२÷०७३ मा रसिदबाट प्राप्त ५२ लाख ११ हजार ७ सय ७१, सन विक्रिबाट १२ लाख ७ हजार ३ सय, बैँक ब्याजबाट ३ लाख ८० हजार ४ सय ४४ र गत बर्षको मौज्जात १ करोड ३५ लाख ९१ हजार ५७ रुपैयाँ गरी डलर सटही सहित १ करोड ९३ लाख १० हजार ५ सय ७३ रुपैयाँ आम्दानी भएको छ ।
    त्यसैगरी तलब, भत्ता, कार्यालय संचालन खर्च, सवारी भाडा, बिजुली, सरसफाई, मेला ब्यवस्थापन, बैँक कर, औषधी अक्सिजन, निर्माण, अनुगमन तथा भ्रमण, संचालन मर्मत, फर्निचर, लेखापरिक्षण र विविध गरी १२ लाख ७७ हजार ८ सय ८६ रुपैयाँ खर्च भएको र १ करोड ८० लाख ३२ हजार ६ सय ८७ रुपैयाँ बाँकी मौज्जात रहेको समितिले जनाएको छ ।
    बैठकले मुक्तिनाथ विकास समितिमा कार्यरत कर्मचरी रविन सुवेदी र कुलदेव सुवेदीको करार अवधिको म्याद २०७३ श्रावण देखि एक वर्ष थप गरी रविनलाई मासिक २३ हजार, कुलदेवलाई मासिक १७ हजार र मन्दिरका मुख्य पुजारी कृष्ण प्रसाद सुवेदीलाई मासिक ५ हजार दिने लगायतका निर्णय गरेको प्रजिअ अधिकारीले जानकारी दिए ।
    आ.व. ०७३÷०७४ को प्रस्तावित कार्यक्रम तथा बजेट अन्तर्गत मन्दिरको छाना मर्मत सुधार, धारा तथा धुप बाल्ने ठाउँ निर्माण, सार्वजनिक निर्माण, औषधी अक्सिजन, फर्निचर, तलबभत्ता, कार्यालय सम्बन्धी खर्च, बिजुली, सवारी भाडा, सरसफाई, विविध, लेखापरिक्षण र अनुगमन तथा भ्रमणको लागि ३७ लाख ४५ हजार बजेट बिनियोजन गरिएको बताईएको छ ।


No comments:

Post a Comment