Thursday, September 1, 2016

१ करोड संकलन गर्दै जोमसोम धार्मिक एवं शैक्षिक महोत्सव सम्पन्न !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ १६ भाद्र
करिब एक करोड रकम संकलन गर्दैै जोमसोम धार्मिक एवं शैक्षिक महोत्सव बिहिबार सम्पन्न भएको छ । “सबै धर्म बिच एकता, हामी सबैले बुझौँ प्राविधिक शिक्षाको आवश्यकता” भन्ने उद्घोषका साथ ८ दिनसम्म संचालित “जोमसोम धार्मिक एवं शैक्षिक महोत्सव” मा मुस्ताङ लगायत अन्य जिल्लाका शिक्षाप्रेमी महानुभावहरुबाट सो रकम संकलन गरिएको हो । जनहित बहुमुखि क्याम्पस जोमसोममा प्राविधिक शिक्षा थप एवं स्नातकोत्तर शिक्षा संचालनको लागि गत भाद्र ९ गते देखि मुस्ताङको सदरमुकाम जोमसोममा महोत्सवको आयोजना गरिएको थियो । 
१०१ टेक्निकल कलेज एवं एक प्रदेश एक टेक्निकल विश्व विद्यालयका संकल्प कर्ता युवा दार्शनिक कथा वाचक ध्रुव शरण बस्यालको संकल्पमा आधारित जिल्लाको एकमात्र क्याम्पस जनहित बहुमुखि क्याम्पसमा प्राविधिक शिक्षा थप एवं स्नातकोत्तर शिक्षा संचालनार्थ महोत्सवको आयोजना गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मिम प्रसाद थकालीले  जानकारी दिए ।महोत्सव समापनको अवसरमा बोल्दै सांसद श्रीमाया थकालीले प्राविधिक शिक्षाले युवा बेरोजगारी र वैदेशिक पलायनलाई रोक्ने एउटा उपयुक्त उपाय भएकाले यसमा राज्यले लगानी गर्नुपर्ने बताउँदै मुस्ताङमा प्राविधिक शिक्षा संचालनको लागि गरिएको यो प्रयास उल्लेख्यनीय रहेको बताईन् ।
    त्यसैगरी कार्यक्रमका मुख्य वाचक दिनबन्धु पोखरेलले नेपालमा १०१ टेक्निकल कलेज स्थापना गर्ने लक्ष्य अनुरुप मुस्ताङबाट शुरु गरिएको यस अभियानलाई सफल पार्नका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै शैक्षिक क्षेत्रमा आमुल परिवर्तन ल्याउन सकेमात्र देशले सम्पूर्ण पक्षमा फड्को मार्ने बताए । आध्यात्मिक तथा भौतिक ज्ञानको माध्यमबाट आर्थिक संकलन गर्दै प्राविधिक विद्यालय संचालन गरी स्वरोजगारी बढाउनका निम्ति देशव्यापी रुपमा प्राविधिक शिक्षाको अभियान शुरु गरेको जानकारी दिए ।   
कार्यक्रममा सह वाचक एवं संकल्पकर्ता ध्रुव शरण बस्याल, नागरिक अगुवा चन्द्र बहादुर थकाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
राष्ट्र निर्माण, पितृहरुको सदगति साथै धर्म, संस्कार र संस्कृति संरक्षण गर्दै जनहित उमावि तथा जनहित बहुमुखि क्याम्पसमा प्राविधिक शिक्षा थप एवं स्नातकोत्तर शिक्षा संचालनार्थ आयोजित महोत्सवमा प्रखर अन्तराष्ट्रिय कथा वाचक पं. दिनवन्धु पोखरेल एवं सह वाचक धु्रव शरण बस्यालले संगीतमय कथा वाचन गरेका थिए ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मिम प्रसाद थकालीको अध्यक्षता, जनहित उमावि व्यवस्थापन समितिका अध्यक्ष एवं मेलामा निर्देशक जयन्द्रलाल थकालीको स्वागत र कर्ण थकालीको संचालनमा सम्पन्न भएको कार्यक्रममा जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनीधि, सुरक्षा अधिकारी, नागरिक समाज, समाजसेवी लगायत स्थानियको उल्लेख्य उपस्थिति रहेको थियो ।



No comments:

Post a Comment